कर्मचारीसँग अलि तालमेल मिल्दैनः मेयर तामाङ

९ महिना अगाडि ७६१ खबर डटकम

अमान सिंह तामाङ, मेयर

चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक

नगर प्रमुखको हैसियतले तपाईको प्रमुख प्राथमिकता के–के रहेका छन् ?
नगर प्रमुखको हैसियतले के–के गर्ने भनेर भनिसकेको छु । पहिलो नगरलाई काठे पुल मुक्त बनाउने, दोस्रो नम्बरमा सम्पूर्ण वडाको सडकलाई नै कालोपत्रे गर्ने, तेस्रो नम्बरमा दुई वर्ष भित्र नगरको खानेपानीको समस्या समाधान गर्ने, वैदेशिक रोजगारतिर भन्दा पनि स्थानीय तह मै रोजगारको व्यवस्था गर्ने, सबै वडामा स्वास्थ्य केन्द्रको स्थापना गर्ने जस्ता कुरालाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छु ।

पाँच वर्षको अवधिमा आफूले बनाएको योजना कतिको पुरा गर्न सक्छु जस्तो लाग्छ, सुरुवाती कामबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
सुरुवाती कामबाट सन्तुष्टै छु, नगरलाई काठे पुल मुक्त बनाउने काम अन्तिम चरणमा पुगेको छ । मंसिर महिनाभित्र यो कार्य सम्पन्न भइसक्ने छ । यो अभियानमा १ करोड ५० लाखको बजेटको फलामे पुल खरिद गरि सकिएको छ । त्यसको साथै, विद्युत प्राधिकरणमा २ हजार वटा विद्युतीय पोलको माग गरिएको छ । तत्काल हजार वटा पुल आउने भएको छ । यस कारण यो समस्या सहजै समाधान हुने भएको छ । अर्को लक्ष्य प्रत्येक वडामा कालो पत्रे गर्ने योजना पनि तिव्र गतिमा अगाडि बढिरहेको छ । चौतारा–स्याउले सडक खण्डको लागि ३४ करोड रकम टेन्डरमा परिसकेको छ । दुई वर्ष मै यतिको काम गर्न सक्नु ठुलो कुरा हो जस्तो लाग्छ । आफूले गरेको काममा सन्तुष्टै छु । पाँच वर्षको अबधिमा आफुले बनाएको योजनाहरु सजिलै पुरा गर्न सक्छु जस्तो लाग्छ ।

संघीय सरकार र प्रदेश सरकारले तपाईंको स्थानीय तहको ठूला आयोजनाहरुलाई कतिको प्राथमिकतामा राखेको छ ?
संघीय सरकार र प्रदेश सरकारले यस चौतारा साँगाचोकगढी नगरपालिकालाई विशेष प्राथमिकता मै राखेको छ ।

सेवा सुविधाका बारेमा कतिपय जनप्रतिनिधिहरु विवादमा आउने गरेको पाइन्छ, तपाईंहरुले कत्तिको व्यवस्थित गर्नु भएको छ ?
संघीय सरकारबाट तोकिएको मापदण्डभित्र रहेरै हामीले जनप्रतिनिधिहरुलाई सेवा सुविधा प्रदान गरिरहेका छौं । जनप्रतिनिधिहरु विवादमा आएको अहिले सम्म सुन्नमा आएको छैन । नगरबाट निर्णय गरेर आजसम्म सेवा सुविधा प्रदान गरिएको छैन ।

विपक्षी राजनीतिक दल र कर्मचारीसँग कस्तो सम्बन्ध रहेको छ ?
राम्रै सम्बन्ध रहेको छ, कर्मचारी र जनप्रतिनिधि एक अर्काका परिपूरक हुन, यी दुई नै अति महत्वपूर्ण छन । कर्मचारी र जनप्रतिनिधि मिलेपछि मात्र नगर र देशको विकास सम्भव हुन्छ भन्ने मलाई लाग्छ । यस कारण सबैसँग राम्रो सम्बन्ध रहेको छ ।

तपाईको स्थानीय तहका गरिहाल्नु पर्ने काम के–के छन् ?
छिटो भन्दा छिटो नगरलाई सुन्दर पर्यटकीय नगर बनाउने, खानेपानीको समस्या समाधान गर्ने, सबै वडाको बाटो कालोपत्रे गर्ने, अर्को महत्वपूर्ण वडा कार्यलय नभएका वडामा वडा कार्यालय निर्माण गर्ने जस्ता कार्य गरिहाल्नु पर्ने छ ।

विकास निर्माणका लागि नगर क्षेत्रमा गर्नु पर्ने अरु कार्य के–के हुन सक्छन् ?
प्रत्येक वडामा स्वास्थ्य चौकी निर्माण गर्नु पर्ने छ । जम्मा १४ वटा वडा रहेको हाम्रो नगरका अहिले १८ वटा स्वास्थ्य चौकी रहेको छ । अझ थप स्वास्थ्य चौकी निमार्ण गर्ने योजना रहेको छ । धेरै ठाउँमा कालो पत्रेको काम सुरु भइसकेको छ भने बाँकी ठाउँका काम सुरु हुने क्रममा छ । नगरमै रोजगारको सिर्जना गर्नको लागि हामीले ५० थान गँलैचाको तान वडा वडामा वितरण गरेका छौं । ३० हजार अनुदान दिएर १०० वटा भैँसी वितरण गरिएको छ । धेरै तरकारी उत्पादन हुने क्षेत्रलाई तरकारीको पकट क्षेत्र बनेर घोषणा गरिएको छ ।

पाँच वर्षमा गर्ने महत्वकांक्षी योजनाहरु के–के रहेका छन् ?
महत्वकांक्षी योजनामध्ये महत्वपूर्ण योजना नगरमा चक्रपथ बनाउने रहेको छ । नगरैमा रोजगारको सिर्जना गर्न उद्योगहरु निर्माण गर्ने योजना छ । मुख्य योजना भनेको नगरलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने रहेको छ । नगरको साथ साथै पूरै सिन्धुपाल्चोकमा रहेका धार्मिक स्थलको स्थिर उन्नति गर्ने योजना छ ।

बजेट खर्चको अवस्था कस्तो छ ?
बजेट खर्चको अवस्था राम्रो छैन । यसको लागि प्रदेश र संघसँग साझदारी गरि अगाडि जाने योजना रहेको छ ।

जनताको आयआर्जनका लागि के कस्ता काम गरिएको छ ?
जनताको आयआर्जनका लागि तत्काल गर्न सकेको त्यति छैन् । उनीहरुको सहयोगको लागि ५० थान गलैचाको तान वितरण गरिएको छ । ठाउँठाउँमा तरकारी पकट क्षेत्र घोषणा गरि स्थिर उन्नतिको कार्य गरिएको छ ।

स्थानीय तहका सम्भावना र चुनौती के छन् ?
चुनौती र सम्भावना भनेको सँगसँगै आउने कुराहरु हुन् । राम्रो पनि पनि नराम्रो पनि सँगै हुन्छन् । यहाँ आम्दानीका कुराहरु कम नै छन् । त्यसमा रहेर काम गर्नुपर्नेछ । यहाँ पर्यटकीय क्षेत्र, कृषि लगायतका थुप्रै सम्भावना पनि छन् ।

कर्मचारी संयन्त्रबाट सहयोग कस्तो छ ?
कर्मचारीसँग अलि तालमेल मिल्दैन । त्यो स्वभाविक हो, कर्मचारीले नीति छोड्दैनन्, हामी जनताको माग छोड्दैनौं । असहयोग नै भनेर त्यस्तो छैन । तर समन्वय गरेर अघि बढ्नुपर्ने स्थिति छ ।

नगरपालिकाले के–कस्ता कानुन बनाउनु भयो, कार्यान्वयनमा के चुनौती छन् ?
हामीले ३४ वटा कानुन बनायौं । पास गर्नेक्रममा शिक्षामा अलिकति समस्या देखिएको छ । ती कानुन चाहीँ अलि कार्यान्वयनमा समस्या छन् । त्यो देखियो । कर नतिरी बसेकालाई कर तिर्दा अलि असहजिलो भएको देखियो । करको नीतिमा अलि असहजता मानेको देखियो ।

निर्वाचित टिममा सामूहिक भावना कस्तो छ ?
हाम्रो हिजो पनि राम्रो थियो । आज पनि बहुमत रहेकाले काम गर्न असहज छैन । अहिले एउटै पार्टी भएकाले पनि दुई तिहाइ छ । १४ सिटमा १२ जना एउटै पार्टीको भएर पनि काम गर्न सहज छ ।

अल्पकालीन, मध्यकालीन दिर्घकालीन योजना ?
हाम्रो गुरु योजना बनाउने तयारीमा छौ । अहिले बनाउने चरणमा छौं । त्यसमा स्पष्ट धारणा आउँछ ।

अहिलेसम्म खास खास गरेका परिणामुखी काम ?
काठको पुल निर्माण, स्वास्थ्य चौकी १४ वडामा १८ वटा स्वास्थ्य चौकी निर्माण भएका छन् । खानेपानी समस्या अन्त्य गर्न विभिन्न संस्थासँग हारगुहार गरेर पनि लिफ्ट सिस्टममा काम गरेर करिव करिव भइसकेको छ । विद्यालय निर्माणमा भत्कोका विद्यालय निर्माण ५ सय ८३ मा ५ सय ८० कोठा निर्माण, शौचालय निर्माण गरेका छौं । विद्यार्थीलाई चश्मा वितरण गर्ने काम गरेका छौं । ५ सय ३१ विद्यालयमा आँखा कमजोर भएका विद्यार्थीलाई चश्मा वितरण ७१ वटालाई लिएकोमा अरु नगरका बच्चालाई दिने काम निरन्तर भइरहेका छन् ।

सेवाग्राहीलाई दिने सुविधा कसरी व्यवस्थित गरिएको छ ?
भाँडोमा जति छ त्यही अनुसारले दिने हो । आउनेलाई रित्तो हात पठाउन नपाए हुन्थ्यो जस्तो लाग्छ त्यही अनुसार काम गरिरहेका छौं । सकेसम्म आश गरेर आएकालाई रित्तो पठाएका छैनौं ।

नगरप्रमुख भएर जनताको काम गर्दाका अनुभव ?
जनताको सेवा गर्नुनै ठूलो कुरा हो । हिजो १० वर्ष युद्धमा हुँदामा पनि जनताको सेवा गरेको हो । अहिले पनि जनताकै काममा समर्पित छु । जनता मालिक हो मालिकको सेवा गरेर खुसी पार्ने काम भइरहेको छ । त्यसमा खुसी छु । मलाई मेयर बनाए भन्नेमा भन्दा पनि जनताको काम कसरी गर्ने भन्नेमा चिन्तित छु ।

नगरभित्रको बाटो, पुल पुलेसाको अवस्था कस्तो छ ?
नगरभित्र बाटोलाई पहिलो प्राथमिकता राखिएको छ । घरघरमा पुर्ननिर्माण भएकाले पनि वाटोमा निर्माण सामाग्री रहेकाले त्यसलाई सफा गर्ने काम पनि भएको छ । घरघरमा चोकचोकमा वाटो पु¥याउने काम भएको छ ।

सिँचाइ, खेतीपाती, वनजंगल, पर्यावरणको अवस्था नि ?
सिँचाइका लागि मुलको पानीले भ्याएसम्म गरिएको अवस्था छ । लिफ्ट सिस्टममा अलि महंगो पर्दो रहेछ । क्षमताले भ्याएसम्म गरिएको छ । आम्दानी भन्दा पनि बत्तिको पैसा वढी लाग्ने अवस्था छ । अरु क्षेत्रको पनि विकास भइरहेको छ ।

जनताले तिर्ने करमा अत्यधिक वृद्धि भएको गुनासो आइरहेको छ, तपाईंकोमा त्यस्तो छ कि छैन ?
त्यस्तो अवस्था यहाँ छैन । जनताले तिर्ने करमा खासै गुनासो छैन । कर भनेको आम्दानी हुनेले तिर्ने हो, सुकुम्बासीले तिर्ने होइन ।

सरकारको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई सफल पार्न तपाईंको भूमिका के रहन्छ ?
यो अत्यन्तै राम्रो नारा छ । सकेसम्म युवाहरुलाई यहि रोजगारी सृजना गर्ने, मासु, तरकारी, फलफुल, दुध, घरघरमै गलैचा उत्पादन गर्ने जस्ता काममा सहयोग गरेका छौं । रोजगारमुलक काम गरिरहेका छौं । त्यो नै हाम्रो अभियान छ ।

प्रदेश र संघीय सरकारलाई केही भन्न चाहानुहुन्छ ?
संघीय सरकार बनाउन धेरै त्याग तपस्या भएको छ । त्यो अनुसार नभएको हो की भन्ने छ । तर यसलाई सुधार्दै लैजानुपर्छ ।

छाता संस्थाको काम कारवाहीप्रति कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
नगरपालिका संको केन्द्रीय सदस्य भएर आएको छु । यो संस्थाले अब के कस्तो काम गर्छ भनेर हेर्न बाँकी छ ।

अन्त्यमा भन्न बाँकी र छुटेका कुरा केही छन् ?
धेरै कुरामा छलफल भयो, यो सरकार दुई तिहाईको हो तर त्यो अनुसारको काम भएको छैन । त्यसको अनुभूति गर्ने काम होस् । जनताको अपेक्षा अनुसार काम हुन भन्ने लाग्छ ।

विज्ञको सहयोगमा न्यायिक निरुपण गरिरहेका छौं : उपमेयर पराजुली

जानुका पराजुली, उपमेयर

एवं संयोजक न्यायिक समिति

चौतारा साँगाचोकगढी नगरपालिका

अहिले न्यायिय सम्पादनको काम कसरी गरिरहनु भएको छ ?
नेपालको संविधानले स्थानीय तहलाई न्यायिक अधिकार प्रदान गरेको छ । ती अधिकारलाई नगर सभाबाट हामीले स्थानीय तहमा ऐन बनाएर न्याय सम्पादनका कार्य सम्पन्न गरिरहेका छौं । त्यसमा हाम्रो स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा न्यायिक समितिका लागि क्षेत्राधिकार दिइएको छ । देवानी सम्बन्धि, मान मर्यादा जस्ता प्रकृतिका मुद्दाहरु आए भने हाम्रो न्यायिक समितिलाई हर्ने अधिकार छ । त्यहि क्षेत्राधिकारलाई आधार बनाएर न्याय सम्पादनका कार्य सम्पन्न गरिरहेका छौं ।

तपाईंको नगरमा कस्ता–कस्ता प्रकृतिका मुद्दाहरु आउने गरेका छन् ?
नगरमा हामीले हाम्रो क्षेत्राधिकार भित्र रहेका मुद्दाहरुलाई मात्र लिने गरेका छौं, त्यसमा मुख्य गरि साँधसिमाना सम्बन्धि मुद्दा, छोड्नु पर्ने जग्गा नछोडेको, घरेलु हिंसा सम्बन्धि मुद्दा, कुटपिट सम्बन्धि मुद्दा, सार्वजनिक जग्गा मिचेर घर बनाएको, जन्म दर्ता तथा विवाह दर्ता नगरिदिएको, आलीधुर सम्बन्धि मुद्दा, बलेसीको पानी अर्काको जग्गामा झरेको जस्ता मुद्दाहरु आउने गरेका छन् ।

हालसम्म कतिवटा मुद्दा आए, कति वटा मिलाउनु भएको छ र कति बाँकी छन् ?
आ.व. २०७४÷०७५ मा जम्मा ९१ वटा मुद्दाहरु आएका छन् । जसमध्ये ७६ वटा विवादहरु मेलमिलापको माध्यमबाट टुङ्गो लगाएका छौं । ८ वटा मुद्दाहरु हामीले निर्णय गरेका छौं । ४ वटा विवादलाई हामीले अदालत पठाएका छौं । ३ वटा मुद्दाहरु समाधानको प्रक्रियामा रहेका छन् । भने आ.व. ०७५÷०७६ मा जम्मा ५ वटा मुद्दा दर्ता भएका छन् । ती हाल प्रकुयामा रहेका छन् । एउटा मुद्दा मेलमिलापबाट टुङ्गो लागेको छ ।

आएका मुद्दाहरु कतिको सरल वा जटिल प्रकृतिका छन् ?
म कानुनकै विद्यार्थी भएकाले काम गर्न त्यति कठिन भएको छैन । अहिले सम्म सजिलैसँग न्याय सम्पादनका कार्यहरु भइरहेको छ । साथै हामीले कानुनका विज्ञहरुको सहयोग तथा परामर्श लिएर काम गरिरहेका छौं । केहि केहि जस्तै पुराना बहु विवाहका मुद्दाहरु, बालविवाह सम्बन्धि मुद्दाहरु पनि आएका छन्, यसलाई सम्पादन गर्न अलि अपठ्यारो भइरहेको छ । बच्चा भइसकेको तर विवाह गर्ने उमेरै नपुगेकाजस्ता मुद्दामा पनि असहज भएको छ ।

नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई पुरा गर्न स्थानीय तहको भूमिका के रहन्छ ?
‘समृद्ध नेपाल सुखी नेपाली’ अहिलेको नेपाल सरकारको मुल नारा हो । अहिले तीन तहको सरकार छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार यी आपसमा अन्तरविरोधी हुँदैनन् । यीनिहरुको समन्वयबाट मात्रै समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गर्न सकिन्छ । स्थानीय सरकारले स्थानीय तहका योजना र कार्यक्रमहरु बनाउँछ र सम्पादनका कामहरु गर्छ । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो, जो प्रत्येक जनतासँग जोडिएर काम गरिरहेको हन्छ । प्रदेश सरकार बीचमा रहेको छ, यसले तल र माथि समन्वय गरेर काम गरिरहेको हुन्छ । भने केन्द्र सरकारले ठूला खालका राष्ट्रिय गौरवका आयोजनाहरु अन्तर प्रदेश जोड्ने योजनाहरुको कार्यन्वयन गर्छ । त्यो हुँदा अहिले नेपालको संघीयताको मुल मर्म भनेकै अन्तर समन्वय गरेर कामहरु अगाडि बढाउने हो । तसर्थ, अहिले समृद्ध नेपाल बनाउनका लागि तीनै वटा सरकार समन्वयमा काम अगाडि बढ्यो भने यो समृद्ध नेपाल सुखी नेपाली बनाउने नारा पूरा गर्न सकिन्छ ।
प्रस्तुती : दिनेश दुलाल