चिनियाँ टोली बाह्रबिसे नगरपालिकालाई सहयोग तयार

८ महिना अगाडि दिनेश दुलाल

बाह्रबिसे,१ मंसिर -छिमेकी मुलुक चिनको एक टोलीले बाह्रबिसे भ्रमणका क्रममा आफनो देशको सिमानासंग जोडिएका सिन्धुपाल्चोकका गाउँ तथा नगरपालिकामा शिक्षा, स्वास्थ्य, भाषा, उद्योग तथा व्यापार व्यवसायमा सहयोग तयार रहेको जनाएका छन् । बाह्रबिसे नगरपालिकाको निमन्त्रणमा बाह्रबिसे आईपुगेका एक चिनियाँ टोलीले मुख्य व्यापारिक केन्द्र बाह्रबिसे नगरपालिकालाई सहयोग गर्ने तयार भएको हो ।

चिनियाँ टोलीलाई बाह्रबिसे नगरपालिकाले स्वागत गरे संगै चिनियाँ टोली तथा बाह्रबिसे नगरपालिकाका जनप्रतिनिधि बीचको अन्र्तरक्रिया कार्यक्रममा उनीहरुले यस किसिमको बचन दिएको नगरपालिका प्रमुख निम्फुन्जो शेर्पाले बताउनुभयो । ’भाषा, शिक्षा, उद्योग तथा व्यवसायमा उहाँहरुले सहयोग गर्ने बचन दिएका छन‘् मेयर शेर्पाले भने । चिनियाँ पक्षले गरेको उक्त बचनबद्वतालाई अन्तिम रुप दिन पुनः छलफल छिट्टै आयोजना गरिने शेर्पाले जानकारी दिनुभयो ।

उक्त छलफलमा चिनियाँ टोलीका प्रमुख जोहन सोन चेनले नेपालको अर्को छिमेकी मुलुक भारतसंग भाषा, संस्कृति रहनसहनको सुमधुर सम्बन्ध रहे जस्तै आफ्नो मुलुक संग पनि त्यस्तो भाईचारा सम्बन्ध स्थापित गर्न चाहेको बताउनुभयो । उहाँले त्यसको लागि सर्वप्रथम आफ्नो देशको भाषा, संस्कति सिक्न आग्रह गरे । सो को लागि चीनको तर्फबाट प्रत्येक विद्यालयका बालबालिकाहरुलाई भाषा सिकाउन तयार रहेको विश्वास ब्यक्त गर्नुभयो ।

उक्त भेटघाट कार्यक्रममा बाह्रबिसे नगरपालिका प्रमुख निम्फुन्जो शेर्पाले भूकम्पले जिर्ण अवस्थामा रहेको बाह्रबिसे नगरपालिकालाई पुनर्निमाणको लागि आवश्यक पर्ने इटा, सिमेन्ट, छड, जस्तापाता लगाएत निर्माणमा आवश्यक पर्ने सामग्री उत्पादन गर्न उद्योग स्थापना गर्न आग्रह गर्नुभएको थियो ।
साथै चिनियाँ मातृभाषा शिक्षाको लागि भने उनीहरुले छिट्टै सुरुवात गर्न लागेको मेयर शेर्पाले जानकारी दिदैं बाह्रबिसे बजारमै कार्यालय खोलेर चिनियाँ टोली बस्न लागेको बताउनुभयो ।

सोही अवसरमा चिनियाँ पक्षलाई बाह्रबिसे नगरपालिकाका मेयर निम्फुन्जो शेर्पाले भगवान गौतमबुद्वको प्रतिमा मायाँको चिनोको रुपमा प्रदान गर्नुभएको थियो । उपहार लिंदै चीनियाँ टोलीका प्रमुख चेनले गौतम बुद्व भारतमा जन्मिएको भनेर हल्ला चलिरहेको सन्दर्भमा बुद्व नेपालमै जन्मिएको भनेर प्रचार गर्न आफु नेपाल आईपुगेको स्पष्ट पार्नुभयो । सोही अवसरका उनीहरुले बाह्रबिसे नगरपालिकामा उपलब्ध कर्मचारी तथा स्थानीयलाई बुद्व दर्शन सम्बन्धी चिनियाँ संस्कृतिको पाठ समेत गराएका थिए ।