प्रदेश ५ को राजधानी बुटवल कि दाङ ?

११ महिना अगाडि


बुटवल, १ मंसिर

मुलुक पहिलो पटक संघीयताको अम्यासमा छ । पहिलो पटक संघीयताको अम्यासमा रहेको मुलुकमा संघीयता कार्यान्वयनको विषय चुनौती बन्दै गएको छ । मुलुकमा विद्यमान सात प्रदेशमध्ये केहिले मात्र अहिलेसम्म प्रदेशको नामांकन र केन्द्रको विषय टुंगो लगाएका छन् । राजनीतिक दलका नेताबीच अझै केन्द्र कहाँ राख्ने र नामांकन के गर्ने भन्ने विषयमा जुँगाको लडाई जारी छ ।

हो, त्यही जुँगाको लडाई सबैभन्दा बढी प्रदेश ५ मा अझ बढी देखिएको छ । प्रदेश सरकार र संसद् स्थापना भएको ९ महिना बित्तिसक्दा पनि अझै केन्द्रको टुंगो लाग्न सकेको छैन । प्रदेशको नामांकन र केन्द्रको टुंगो लगाउनु त कहाँ कहाँ उल्टै नेताहरुबीच शूरु भएको जुँगाको लडाईले प्रदेशको भविष्यप्रति चिन्ता र चासो बढ्न थालेको छ ।

केन्द्रको विषयलाई लिएर दलभित्रै एकमत नभएको अवस्थामा प्रदेश ५ को राजधानी विवाद उत्कर्षमा पुग्दै गएको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा प्रदेश ५ को राजधानी दाङ हुनुपर्ने अडानमा हुनुहुन्छ भने कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण प्रदेशको राजधानी बुटवलको विकल्प हुन नसक्ने अडानमा हुनुहुन्छ । उसो त प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा महासचिव विष्णु पौडेलको आआफनै अडान कायम छन् ।

निर्वाचनका बेला बुटवल र दाङलाई प्रदेश राजधानीको मुख्य अजेन्डा बनाएका नेकपा र कांग्रेसका प्रतिनिधि र प्रदेश सांसद तथा प्रभावशाली नेताबीच यसरी जुँगाको लडाई चलिरहँदा आम सर्वसाधारणमा भने निरासा छाउन थालेको छ । जनताको पक्षमा काम गर्ने बेलामा केन्द्र विवादले विकास निर्माणमा असर पर्न थालेपछि आम सर्वसाधारणमा निरासा छाउँन थालेको हो ।
देशमा नेकपाको स्पष्ट बहुमत पनि छ । कुल ८७ सांसदमध्ये ६१ जना सत्तारुढ नेकपाका सांसद छन् । कांग्रेसका १९, फोरमका ५ राष्ट्रिय जनमोर्चा र राजपाका १÷१ जना छन् । तर सत्तासीन दलभित्रै ठूला नेतादेखि प्रदेश सांसदहरू क्षेत्रगत रूपमा विभाजित छन् ।