केशव स्थापितको मन्त्रालयमा कसले बाजी मार्ला ?

८ महिना अगाडि ७६१ खबर डटकम

काठमाडौं– सूदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीलाई पदमुक्त गरेलगत्तै नयाँ मन्त्री नियुक्त गरिए पनि प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको ठाउँमा कसैलाई ल्याइएको छैन ।

दुई साता अघि नै ३ नम्बर प्रदेशका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई बर्खास्त गरिएको थियो । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गरेपछि उनको मन्त्रालय आफैंसँग राखेका छन् ।

प्रदेश मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र स्थापितबीच भनाभन भएको थियो। मन्त्रिपरिषद बैठकमै मुख्यमन्त्रीलाई अपशब्द प्रयोग गरेको भन्दै पौडेलले ब्रिफिङ गरेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहमतिमा स्थापितलाई हटाइएको थियो ।
स्थापितको मन्त्रालयमा कसलाई मन्त्री बनाउने भन्ने टुंगो नलागेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । तर, छिट्टै मन्त्रालयको जिम्मा दिइनेछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र पुष्पकमल दाहालको सहमतिमा मन्त्री टुंगो लगाइनेछ ।

काठमाडौंबाट निर्वाचित स्थापितलाई हटाइएकाले यहींबाट निर्वाचितलाई मन्त्री बनाउनुपर्ने लबिइङ भइरहेको छ । स्थापितको स्थानमा काठमाडौं ३ ‘ख’ बाट निर्वाचित रामेश्वर फुयालको दाबी सबैभन्दा बढी छ ।

काठमाडौं ३ बाट दोस्रो संविधानसभामा प्रतिनिधित्व गरेका फुयाल प्रदेशसभामा सिनियर नेता हुन् ।

फुयालबाहेक मनु सिग्देल पनि दाबेदार छिन् । प्रतिनिधिसभाका सांसद विरोध खतिवडाकी पत्नी सिग्देल तत्कालिन नेकपा एमालेका मकवानपुर अध्यक्ष थिइन् ।
मुख्यमन्त्री पौडेलले संविधानको धारा १६९ को उपधारा २ को खण्ड (ख) अनुसार स्थापितलाई बर्खास्त गरी स्थापितले सम्हालेको मन्त्रालयको जिम्मेवारी आफैंले लिएका छन्।

दोलखाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित विशाल खड्काले पनि मन्त्रालय दाबी गरेका छन् । तर, पूर्वएमालेको भागमा रहेकाले खड्काको सम्भावना कम छ ।