दुवै खुट्टा नचल्ने मानवहादुरलाई इटहरी उपमहानगरमा जागिर

१० महिना अगाडि लिरा भट्टराई

इटहरी, २९ कार्तिक - सधैंझै विहान सात वजेनै इटहरीका मेयर द्वारिकलाल चौधरी सिटि रिक्सा चढेर घरदैलो अभियानमा इटहरी २ तर्फ लाग्नुभयो । २ नम्वर वडाका कालोपत्रे हुन वाँकी प्राय सवै वाटोको अवलोकन पछि स्थानीयलाई तीन बर्षभित्रमा कालोपत्रे गरिसक्ने प्रतिवद्धता जनाउनुभयो । देउराली चौक स्थित एउटा घरमा निस्कने क्रममा भेट भयो मान वहादुर भुजेलसँग । भुजेलको छेवैमा वसेर मेयर चौधरीले कुराकानी गर्नुभयो । कुराकानीकै क्रममा भुजेलले आफनो योग्यता र क्षमताले भ्याउने र गर्नसक्ने जागिर मिलाइदिन अनुरोध गर्नुभयो । मेयर चौधरीले तत्काल भन्नुभयो “लु कागजपत्र लिएर नगरपालिका आउनुहोस,तपाईको जागिर पक्का भयो ।” कम्मर देखि तल दुवै खुट्टा नचल्ने अपाँङ्गता भएका मान वहादुरको अनुहारमा दौडिएको खुशि हेर्न लायक देखिन्थ्यो ।

को हुन मान वहादुर भुजेल



इटहरी २ का मान वहादुर भुजेल जनता क्यामपस इटहरीमा वीए तेश्रो वर्षमा अध्यनरत अपाङ्गता भएका छात्र हुन । मान वहादुरको दुवै खुट्टा चल्दैन । हिृवलचेयरको सहायताले हिडडुल गर्नुपर्छ । दुई दाजु र पाँच दिदीका कान्छा भाई मान वहादुरका वुवा ८० र आमा ७५ वर्षका हुनुहुन्छ । २०५० सालमा जन्मेका मान वहादुरको डेढ बर्षकै उमेरमा पोलियो लागेर दुवै खुट्टा नचल्ने भएका हुन । मान वहादुरमा सानै देखि पढलेख गर्ने रहर थियो । तर स्कुल टाढा टाढा मात्र थिए । गाँउको दुवै तिर खोलामा पुल थिएनन । स्कुल जान सक्नुभएन । तर पढने रहर भने कहिल्यै हटेन । १९ बर्षको उमेरमा पहिलो पटक स्कुल जानुभयो । त्यो भन्दा अघि १५ महिना अनौपचारिक वाल शिक्षा पढनुभएको थियो । छ कक्षामा भर्ना भएका मान वहादुरले धेरै दुःख गरेर वीए तेश्रो बर्ष सम्म पुग्नुभयो ।


स्कुल क्यामपसमा कहिल्यै पनि शौचालय जान नपाएका ब्यक्ति

मान वहादुरले स्कुले जीवनमा कहिल्यै पनि शौचालय जान पाउनुभएन । कलेज पढदा पनि दिशा पिसाव आउला आउला जस्तो भयो कि खुरुक्क कक्षा वाट निस्किएर घर तिर धाउनु पर्ने वाध्यता रहयो । स्कुल कलेजका शौचालय अपांगमैत्री नभएका कारण उहाँले शौचालयमा शौच गर्न नपाउनुभएको हो ।
“शौच सम्म गर्न नपाउदा निक्कै तनाव हुन्छ तर के गर्नु ? हाम्रो संरचनाहरुनै यस्तै छन” पीडा मिश्रित भावमा वताउनुभयो ।


जीन्दगीमा केहि गरेर देखाँउने हिम्मत वढयो


मेयर द्वारिकलाल चौधरीले जागिर दिने वताएपछि मान वहादुर निक्कै खुशि हुनुभयो । अव आत्मनिर्भर वन्न सक्छु भन्ने हौशला जागेको मान वहादुरले प्रतिक्रिया छ । उहाँ भन्नुहुन्छ “अपांगता भएकाहरुले पनि अवसर पाए भने केहि गरेर देखाउन सक्छन । म पनि गर्न सक्छु भन्ने दृढ संकल्प छ । अरुको खेतिपाति गरेर मलाई वुवाआमाले पढाउनुभयो ।

म पनि मुढामाथि चढेर साइकलमा वुरुक्क उफ्रिएर अर्काले साइकलमा पुरयाइदिएको भरमा असाध्यै कष्ट सहेर स्कुुल गएँ । पढन त पढदै छु ,जागिर चाँहि कसरी पाइएला भन्ने चिन्ता थियो । मेयर सावले घरमै आएर उपमहानगरमा जागिर मिलाइदिने वताएपछि जिन्दगीमा केहि गर्न सक्छु भन्ने थप आत्मविश्वास पलाएको छ । इटहरीमै जन्मे हुर्के म जन्मेको माटो समातेर भन्छु म इटहरीका लागि केहि गर्न चाहन्छु । इटहरीलाई एक वित्ता उचाल्न योगदान दिन चाहन्छु । समाजले अपांगता भएकाहरुलाई हेर्ने दृश्टिकोण फरक छ त्यो दृश्टिकोण परिवर्तन गर्न मैले केहि गरेर देखाउनुपर्ने नै छ त्यसका लागि मैले इटहरी उपमहानगमा जागिर पाएपछि धेरै सहज हुने छ ।”