हिलिहाङ गाउँपालिकाका सुत्केरीलाई घरघरमै घ्यु, हर्लिक्स र भत्ता

९ महिना अगाडि ७६१ खबर डटकम

पाँचथर, २९ कार्तिक - पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्वर ३ ले वडाका सुत्केरी महिलालाई घरघरमै पुगी ढेड किलो घ्यु, १ किलो हर्लिक्स र १ हजार ५ सय नगद प्रदान गर्न थालेको छ ।सो गाउँपालिकाको ३ नम्वर वडालेअन्य वडाभन्दा फरक कार्य गरेर नागरिकलाई सेवा गर्दै आएको हो ।

यस अघि पुरै वडामा नयाँ सडक खन्न नपाउने नीति बनाएर चर्चामा आएको वडा यतिखेर सरकारी सुबिधा घरघरमा पुर्याएरउपलब्धी देखिन थालेको हो । वडाले नयाँ नीतिबनाएर वडाका कामहरू गरिहेको अध्यक्ष मदन गौतमले वताउनुभयो । गौतमका अनुसार गएको असोजदेखि वडाका सबै सुत्केरी महिलाहरूका लागि सरकारी सुबिधा पुर्याउने काम भइरहेको छ ।


वडामा क्रियाशील स्वास्थ्य स्वयंसेविकामार्फत आएको सूचनाका आधारमा वडाको टोली सुत्केरी महिलाका घरमा पुग्ने गर्छन् । वडामा सुत्केरी अवस्थाका ४८ जना महिला भएको स्वयंसविकाको रिपोर्ट आएको वडाध्यक्ष गौतमले वताउनुभयो । प्रत्येक महिलालाई वडाको तर्फबाट ३ हजार ५ सय बराबरको सहयोग हुने गरेको छ । वडाको टोलीले ढेड किलो घ्यु, १ किलो हर्लिक्स र १ हजार ५ सय नगद प्रदान गरिँदै आएको छ ।

त्यसबाहेक सरकारी टोलीले शिशुको जन्मदर्ता पनि गरिदिने गरेको छ ।
उक्त गाउँपालिकाको वडा नम्बर ३ मा ४८ जना गर्भवती महिला रहेको तथ्यांक स्वास्थ्य संस्थामा छ । सोहीअनुसार वडाले खर्च व्यवस्थापन गरिरहेको वडाध्यक्ष मदन गौतमले जानकारी दिनुभयो । त्यस्तो सुबिधा हालसम्म चार जना महिलाले लिइसकेका छन् ।