कार्तिक ४, काठमाडौँ - काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा सागर राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । उहाँले भन्नुभयो, “शैया खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसियुमा सार्ने गरिएको छ ।”अस्पतालको आइसोलेसन र आइसियु अधिकांश समयमा सङ्क्रमितले भरिरहेको निर्देशक डा राजभण्डारीले बताउनुभयो । अस्पतालमा दैनिकजसो नै सङ्क्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ । उहाँका अनुसार आइसियुमा रहेका बिरामीलाई समस्या कम भएपछि केही दिनसम्म आइसोलेनमा राखेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिँदै आएको छ । अस्पतालमा गम्भीर समस्या भएका र अक्सिजन दिनुपर्ने बिरामीलाई राखिने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लक्षणसहितका अरु बिरामीले पनि अस्पतालमा भर्ना हुन चाहे पनि हामीले गम्भीर बिरामी मात्रै लिने गरेका छौँ ।”उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढीरहँदा अस्पताललाई त्यसको व्यवस्थापन गर्न गाह्रो भएको निर्देशक डा राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार अस्पतालले केही शैया बढाउन लागेको भए पनि अस्पतालको क्षेत्र नै साँघुरो भएकाले धेरै बढाउनसक्ने अवस्था छैन । अरु समस्या हुँदाजस्तो नभएर कोभिडका बिरामीलाई दूरी कायम गरेर राख्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । अस्पतालमा केही समय पहिले दुई भेन्टिलेटर थपिएको थियो । अहिले छ आइसोलेसन शैया, चार आइसियु र एक भेन्टिलेटर थप गर्न लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सम्भव भएसम्म बेड थपिरहेका छौँ ।”