मूर्ति बनाउन नगरपालिकाद्वारा एक करोड सहयोग

९ महिना अगाडि

कञ्चनपुर, २० कात्तिक -भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरपालिका–८ महाकाली शारदापीठ भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउन एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ । नेपाल आमाको मूर्ति निर्माण समितिले सोमबार भम्केनीधाममा आयोजना गरेको छलफल कार्यक्रममा नगर प्रमुख विष्टले आगामी नगरसभाबाट सो रकम उपलब्ध गराउने प्रस्ताव प्रस्तुत गरिने बताउनुभयो ।

“भम्केनीधामलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरिएकाले स्थानीय सरकारले त्यसमा सक्दो सहयोग गर्छ,” उहाँले भन्नुभयो । भम्केनीधाममा नेपाल आमाको मूर्ति बनाउन रु १४ करोड लाग्ने अनुमान गरिएको छ ।


यस्तै, भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालय भवन निर्माण गरिएको छ । महेन्द्रनगर नगर विकास समितिले उपलब्ध गराएको एक बिघा जग्गामा रु सात करोड ३७ लाखमा दुई भवन निर्माण गरिएका हुन् ।


आयोगका कञ्चनपुर प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालका अनुसार प्रशासनिक र प्रहरी ब्लक गरी दुई भवन निर्माण भएका छन् । भवनको सोमबार आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरले उद्घाटन गर्नुभयो । जिल्लामा २०७० सालदेखि अख्तियारले सम्पर्क कार्यालयका रूपमा काम गर्दै आएको छ । रासस