‘उपत्यकामा एउटै मेट्रोपोलिटन सिटी बनाउनुपर्छ’

१ वर्ष अगाडि ७६१ खबर डटकम

सोम मिश्र चाँगुनारायण नगरपालिकाका मेयर हुन् । सुदूरपूर्वी जिल्ला ताप्लेजुङको हाङ्देवामा जन्मिएका मिश्र परिवारसहित २०४० सालमा कैलाली पुगे । ०४३ सालमा पढ्न काठमाडौं आएका उनी ०४५ सालदेखि भक्तपुरमा बस्न सुरु गरे । भक्तपुरमै उनले राजनीतिक जीवन सुरुवात गरे भने यहीँका स्थानीय बासिन्दा भए । भक्तपुरमा मिश्रले तत्कालिन नेकपा एमालेको वडा कमिटी सदस्य, सचिव, गाउँ कमिटी सदस्य, सचिव, इलाका कमिटी सदस्य, सचिव, जिल्ला कमिटी सदस्य, कार्यकारी जिल्ला सचिव हुँदै पार्टी केन्द्रीय सदस्य सम्म भए । ‘कुनै पद नदोहोर्‍याइकन सबै कमिटीमा बसेर काम गरेँ,’ उनी भन्छन्, ‘हिरासतमा रहेकाबेलाबाहेक निष्क्रिय पनि कहिल्यै बसिनँ ।’ पार्टीमा संगठित नहुँदै २०४३ मा काठमाडौं पिपुल्स कलेजको स्ववियु सचिव र २०५४ मा भक्तपुर जिविस सदस्य निर्वाचित भएका मिश्र भौगोलिकरुपमा सबैभन्दा ठूलो चाँगुनारायण नगरपालिकाको मेयर निर्वाचित भएका हुन् । प्रस्तुत छ, मिश्रसँग गरिएको सम्वादको सम्पादित अंश–

ताप्लेजुङमा जन्मिएको, कैलालीसम्म पुगेको व्यक्ति चाँगुनारायण नगरपालिकाको पहिलो सरकार प्रमुखकोरुपमा निर्वाचित हुनुको पछाडि के कारण रह्यो ?

भक्तपुर भौगोलिकरुपमा सानो जिल्ला हो । तर, चाँगुनारायण भने भौगोलिकरुपमा सबैभन्दा ठूलो नगरपालिका हो । तत्कालिन ८ गाविस र २ नगरपालिका मर्न भएर चाँगुनारायण बनेको हो । ०४५ देखि म यहीँ निरन्तर छु । जहाँ पनि मिहिनेतपूर्वक लाग्ने गरेको छु । शिक्षण क्षेत्रमा थिएँ । त्यहाँ पनि मिहिनेत गरेँ । कोही पनि एसएलसी फेल भएनन् । मैले मेयर उठ्ने योजना बनाएको थिइनँ । मैले सोचेको पनि थिइनँ । तर, मैले नउठ्ने भन्दा धेरैले दबाब दिए । रातभर सुत्न पनि दिएनन् । सबैको सहानुभूतिलाई नकार्न सकिनँ । मुड बदलेँ । सबैको सहानुभूतिले जितेँ । यहीँका जनतासँगको लामो हेलमेल र भूकम्पपछिको पुनर्स्थापनामा मैले गरेको योगदानलाई जनताले सम्झनुभएको रहेछ भन्ने लाग्यो ।


डेढ वर्षमा भएको कामको प्रगतिलाई कसरी समीक्षा गर्नुहुन्छ ?

अहिले योजना निर्माणको अवस्थामा छौं । कर्मचारी, नियम कानुनको अभाव थियो । अन्यौलपूर्ण अवस्था थियो । धेरै कानुन संशोधनको अवस्थामा थियो । भौगोलिकरुपमा चाँगुनारायण ठूलो छ । छरिएको वस्ती छ । ठूलो भुगोल हुनुको फाइदा पछि होला नै । जनताले अपेक्षा धेरै गरेका छन् । तपाईंको सडकलाई बजेट दिन सकिएन भन्यो भने पनि कोही मान्नेवाला छैनन् । जटिलता धेरै छ । शिक्षामा विकृति विसंगति छन् । गर्न सकिँदैन होला कि भन्नेजस्तो लाग्दैन । सुरुमा त म आत्तिएको थिएँ । केही गर्न नसकिने हो कि । यहीँ हराउने हो कि । यति लामो राजनीतिक जीवन समाप्त हुने हो कि भन्ने लागेको थियो । तर अहिले लय समातेको छ । खानेपानीको डिपबोरिङ गरिएको छ । पाइपलाइन सुरु भएपछि यो समस्या समाधान हुन्छ । खानेपानी, सरसरसफाई, भौतिक पूर्वाधारलगायतका काम सुरु भएका छन् । शतप्रतिशत सन्तुष्ट छैन, तर मूलतः सन्तुष्ट छु । साथै, घरधूरी सर्वेक्षण गर्ने चाँगुनारायण पहिलो नगरपालिका हो । लोगो, नगर गान बनाउने पनि सम्भवतः पहिलो नै हौं । रणनीतिक योजना बनायौँ । चाँगुनारायणलाई सामाजिक विकास मन्त्रालयले सम्मान गरेको छ । ५–१४ वर्षसम्मका बालबालिका स्कुल बाहिर छैनन् । शतप्रतिशत विद्यालय गएका छन् । वडा नम्बर १ मा वीर अस्पतालको ओपीडी सुरु भएको छ । अब ल्याब र विशेषज्ञ सेवा सुरु हुन्छ । धेरै योजनाहरु बनाएका छौं, विस्तारै कार्यान्वयन हुन्छ ।


उसो भए चुनावी प्रतिबद्धता पूरा गर्न सक्ने अवस्थामा हुनुहुन्छ ?

लगभग गर्न सकिन्छ । चुनावमा गरेको प्रतिबद्धता शतप्रतिशत होइन, ९० प्रतिशत गर्न सकिन्छ । चुनावमा प्राविधिक परीक्षण गरेर योजना बनाइँदैन । राजनीतिक पोलिसी गाइड हुन्छ । सम्भव हुने कुराहरु गरिन्छ ।


तपाईंकै आयोजनामा उपत्यकाका मेयरहरुको भेला भएको छ । किन आवश्यक ठान्नुभयो ?

मेयर भेला गर्नुका पछाडि दुइटा कुरा छन् । म पार्टीको आठौंदेखि नवौं महाधिवेशन बीचको अवधिमा संघीय मामिला विभागको सदस्य थिए । त्यसबेला सभासदलगायत विज्ञसँग कार्यशाला गर्‍यौँ । त्यतिबेलाका विकास क्षेत्रमा कार्यपत्र प्रस्तुत गरेका थियौँ । राजधानीलाई प्रदेशभन्दा तल राख्ने होइन । यो छुट्टै स्वायत्त प्रदेश हुनुपर्छ भन्ने निष्कर्ष हाम्रो थियो । विश्वका ठूला नगरहरु दिल्ली, लन्डन, वासिङ्टन डीसी कुनै प्रदेशअन्तर्गत पर्दैनन् । हामीले पनि राजधानीलाई महानगर बनाउने । तर यसलाई कुनै प्रदेशमा नपार्ने भन्ने सोच अघि सारेका थियौं । तर सम्भव भएन । मैले त्यहाँ व्यक्त गरेको कुरा त होइन तर अहिले पनि म उपत्यकाका १८ वटै नगरपालिकाकाको ‘मेट्रोपोलिटन सिटी’ बनाउनुपर्छ भन्ने पक्षमा छु । त्यसको अभ्यास हो । अर्को, यहाँका नगरपालिकाका धेरै समस्याहरु साझा छन् । जस्तै– फोहोर, सडक यातायातलगायत । सडकको मापदण्ड भक्तपुरकै मध्यपुर थिमी र चाँगुनारायामा फरक फरक छ । कम्तिमा यस्ता कुराहरुमा समानता हुनुपर्छ भन्ने हो । करमा पनि समानता हुनुपर्छ । सबै नगरपालिकाबाट कवाडी उत्पादन हुन्छ । तर, कवाडी कर चाँही चन्द्रागिरी नगरपालिकाले मात्रै उठाउँछ । त्यसका लागि साझा संयन्त्र बनाउनेमा सहमत भएका छौं । केही समय त पक्कै लाग्दा । यो त्यसको सुरुवात हो । अहिलेलाई काठमाडौं महानगरपालिकाका प्रमुखको नेतृत्वमा उपत्यका नगरपालिका फोरम बनायौं । ललितपुरका उपमेयर सहसंयोजक हुनुहुन्छ । संघीय सरकार, प्रदेश सरकार र लगानी बोर्डसँग छलफल गरेर योजना बनाउँछौं ।


उपत्यकाका नगरपालिकाबीच साझा धारणा बनाइरहँदा छिमेकी काभ्रेको मण्डन देउपुर नगरपालिकासँग तपाईंको नगरको करको विवाद छ नि !

होटल व्यवसायी करमा केही समस्या देखिए । व्यवसायीलाई व्यवसाय कर लिने भनिएको हो । तर सुरु भएको छैन । अर्को कुरा चाँगुनारायण विश्व सम्पदा सूचीमा सूचिकृत छ । सम्पदा क्षेत्रमा प्रवेश गर्दा जहाँ पनि कर लिने गरिएको छ । मैले मण्डन देउपुरका मेयरसँग कुरा गरेको छु । साझेदारी गर्ने भनिएको छ । तर भएको छैन । यहीबेला कतिपय चाँही स्थानीय तहलाई कमजोर र बदनाम गर्न किचलो निकाल्न लागिपरेका छन् । चाँगुनारायणको क्षेत्रमा आएर, सीमामा आएर कर लिएको पाइएपछि मैले पत्र लेखेको छु । यो विषयको समाधान हुन्छ ।


करको विषयलाई लिएर स्थानीय तह आलोचित छन् । तपाईंले चाँही के गरिरहनुभएको छ ?

गएको वर्ष साढे ५ करोडको राजश्व अनुमान गरिएको थियो, ८ करोड उठ्यो । अहिले १६ करोड अनुमान छ, तर २० करोड उठाउछौँ । सेवा शुल्क र दस्तुरबाहेक जनतासँग एक रुपैयाँ पनि लिएको छैन । लगाएका पनि छैनौँ । बढाएका पनि छैनौँ । पर्यटक, इटा उद्योग, बालुवाखानी, माटोको कर र व्यवसाय कर लिन्छौँ । हामी सम्पत्ति करमा गएनौँ भूमि करमा धेरै आउँदैन ।


स्थानीय तहको अधिकार बढि भयो भन्ने पनि सुनिन्छ नि ?

सिंहदरवार स्रोत र अधिकार दिन तयार छैन । उच्च कर्मचारीहरु नै रोक्ने पक्षमा छन् । उपत्यका विकास प्राकिरण, डोलिडार, शिक्षा विभाग खारेज हुने भएपछि उपसचिवभन्दा माथिका कर्मचारीहरु संघीयता कार्यान्वयन नगर्न लागेका छन् । बदनाम बनाउनतिर लागेका छन् । र, केही मिडिया अण्डामा पनि, कुखुरामा पनि साइकलमा पनि कर लगाएको भनेर बदनाम गर्न लागेका छन् । जनप्रतिनिधि अण्डा कसले पार्‍यो भनेर जान्छन् ? ठूला व्यवसायी र व्यापारीसँग आज होइन, पञ्चायतकालदेखि नै कर लगाइन्थ्यो । माझीले डुंगा तार्दा पैसा लिन्छ । कर होइन । अनि उसले वर्षमा सरकारलाई केही कर तिर्छ । कसै कसैले अनावश्यक कर लगाए भनेर सबैलाई मुछ्ने काम भएको छ । माननीयहरु, ठूला दलका नेताहरुको पनि यही गलत बुझाइ छ । जनतासँग सांसद, मन्त्री हुँदैनन् । जनतासँग त स्थानीय तहका प्रतिनिधिहरु हुन्छन् । तलमाथि गरे भने २० जनाले नै गलाइहाल्छन् नि । मेरो जनता रिसाउँछन् कि भन्ने हुन्छ ।


चाँगुनारायण मन्दिरलाई नै अप्ठ्यारो पार्ने गरी बालुवाखानी सञ्चालन गर्ने कुरा आइरहेको छ नि ?

त्यहाँ बालुवाखानी चलाउनुहुँदैन भनेर नेतृत्व गर्ने म नै हुँ । म मेयर नहुँदा पनि सिडियोसँग पटक पटक गएर रोक्ने काम गरेको हो । जनप्रतिनिधि नहुँदा पनि रिस्क मोलेर गरे । पार्टीमा नै मलाई अप्ठ्यारो पार्ने काम पनि भयो । नगरपालिका नै चाँगुनारायण छ । यसलाई असर गर्न दिइँदैन । सेटिङमा बालुवा निकाल्न दिइँदैन । हिजो नागरिककोरुपमा त चाँगुनारायण जोगाउन लागेको थिएँ भने आज त मेयर भएको छु ।


चाँगुनारायण नगरपालिकाका लागि तपाईंले देखेका सपनाहरु के–के छन् ?

स्मार्ट सिटीको योजना बनाएको छु । फिनल्याडको एउटा कम्पनीले डीपीआर बनाउँदैछ । ९ महिनामा तयार हुन्छ । आवासीय प्राविधिक शिक्षालयको योजना बनाएका छौं, नगरकोटमा भ्यू टावर बनाउने योजना छ । त्यसको लागत १ अर्ब ५३ करोडको आएको छ । वीर अस्पताल यहीँ हुन्छ । रोड स्तरोन्नति गरिन्छ । ५ वर्षमा आधा र १० वर्षमा चाँगुनारायणमा निजी स्कुल हुँदैनन् । कानुन बनाएर, कर लगाएर होइन, सामूदायिक विद्यालयमा स्तर सुधार गरेर निजी विद्यालय प्रतिस्थापन गर्दै जाने हो । विद्यार्थी नगएपछि स्वतः बन्द हुन्छ । पिउन लायक प्रमाणित भएको धारा हरेक घरमा पुर्‍याउने लक्ष्य छ । हामी धेरै कामलाई तीब्रताका साथ अघि बढाउछौं ।