प्रहरी प्रशासनले अब नयाँ तरिकाले काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

७ महिना अगाडि

धनगढी, ११ कात्तिक - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाज रुपान्तरणको चरणमा रहेको वर्तमान अवस्थामा हरेकले आफूलाई रुपान्तरण गरेर काम गर्न जरुरी भइसकेको बताएका छन् ।
नेपाल प्रहरीले शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले प्रहरी प्रशासनले पनि नयाँ तरिकाले कार्य सम्पादन गर्नु जरुरी रहेको बताए। शान्ति सुव्यवस्था सुदृढ र भरपर्दो बनाउन समाजका सबै तप्काले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले भने, ‘‘हिजोको सोच, चिन्तन, कार्यशैली र व्यवहार परिवर्तन गरेर नयाँ तरिकाले जान आवश्यक छ ।”
प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले पछिल्लो समयमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यमा फितलो भइरहेको भन्ने जनगुनासो बढेकोप्रति सचेत हुन जरुरी छ भने। धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापालगायतले प्रहरीले कार्यान्वयनमा ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम समाजमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न सान्दर्भिक रहेको बताए। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणामाथि प्रकाश पारेका थिए।
नेपाल प्रहरीले समाजमा विभिन्न अपराध, विकृति–विसङ्गति रोकथाम गर्दै शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न समुदाय, स्थानीय तह, सामाजिक सङ्घसंस्था, विद्यालयलगायतलाई जोडेर नयाँ समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयमा ल्याएको हो । रासस –––