भारतीयलाई नेपाली नागरिकता दिन खोजेको आरोपमा वडाध्यक्ष विरुद्ध उजुरी

११ महिना अगाडि ७६१ खबर डटकम

सप्तरी, ११ कार्तिक । भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने आरोपमा जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष विरुद्ध उजुरी परेको छ । वडाध्यक्ष सहित चार जनाले भारतीय नागरिकलाई नेपाली नागरिकता दिन खोजेको भन्दै उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको हो ।

नागरिकता बेच्न खोजेको आरोपमा स्थानीयवासी कप्लेश्वर यादवले वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बाबु बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय राजाराम यादवविरुद्ध उजुरी दिएका हुन् ।


पैसाको प्रलोभनमा परेर कीर्ते कागज तयार गरी भारतको सुपौल जिल्ला, सातैनपट्टी छतौनी ग्रामपञ्चायत–३ का बद्री यादवका छोरा १८ वर्षीय राजारामलाई महेश्वर यादवका नाममा वडाध्यक्ष, सचिव र स्थानीयवासी विन्देश्वरीले नागरिकता दिने तयारी गरेको आरोप उजुरीमा उल्लेख छ ।


साविक रम्पुरा मल्हनियाँ गाविस–३ का विन्देश्वरीलाई बाबु र लक्ष्मीदेवीलाई आमा बनाई वडा कार्यालयबाट नागरिकता दिने तयारी पूरा भइसकेको थियो ।
संलग्न आरोपितलाई कारवाही गर्न उजुरीमा माग गरिएको छ । नागरिकता जारी भई नसकेकाले उजुरीमा उल्लेख भएअनुसारको फाइल आए रोक्न निर्देशन दिइएको प्रजिअ सुरेन्द्र पौडेलले बताए ।