एक महिनामा संघीय सरकारले कर्मचारी नपठाए प्रदेश आफैले भर्ना गर्ने

१० महिना अगाडि ७६१ खबर डटकम

जनकपुरधाम, १० कार्तिक -प्रदेश २ सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले एक महिनाभित्र आवश्यक कर्मचारी पठाइसक्न संघीय सरकारलाई आग्रह गर्दै तोकिएको अवधीमा कर्मचारी नपठाए आफैं भर्ना गर्ने चेतावनी सहितको निर्णय गरेको छ ।

प्रदेश सरकारले तयार पारेको कर्मचारी संगठनात्मक संरचना (ओएनएम) अनुसारका कर्मचारी एक महिनाभित्र पठाउन संघीय सरकारलाई आग्रह गर्दै यस्तो निर्णय गरेको हो ।

यो निर्णयसँगै प्रदेश नम्वर २ सरकार र संघीय सरकारवीचको कर्मचारी समायोजन लगायतका विवाद चुलिने अनुमान गरिएको छ । एक महिनाभित्र संघीय सरकारले आवश्यक कर्मचारी नपठाए प्रदेश सरकारले आफैं व्यवस्था गर्ने निर्णयसमेत गरेपछि यस्तो अवस्था देखिएको हो ।

यसअघि प्रदेश २ सरकारले आफ्नो छुट्टै प्रहरी ऐन जारी गर्दै आफै प्रहरी भर्ना गर्ने निर्णय गरेको थियो । यस्तै, कर्मचारी समायोजन लगायतका केही विधेयक पनि संसदमा पेश गरेको थियो ।