व्यास नगरपालिकाद्वारा पर्यटन प्रबद्र्धन समिति गठन

१० महिना अगाडि

तनहुँ, ९ कात्तिक- व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको पहिचान एवं प्रबद्र्धनका लागि पर्यटन प्रबद्र्धन समिति गठन गरेको छ ।
नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले व्यास नगरपालिका–२ का अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा सो समिति गठन गरेको हो । समितिको सदस्यहरूमा इञ्जिनीयर धु्रव पण्डित, सन्तोष श्रेष्ठ, केबी थापा, सुशीला शर्मा, आशा दरै रहनुभएको छ भने समितिको विशेषज्ञ सल्लाहकारमा तनहँु पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ तथा सदस्य–सचिवमा नगरपालिकाका शाखा अधिकृत विमल गिरी चयन भएका छन् ।
बैठकले नगर प्रमुख बैकुण्ठ न्यौपानेको संयोजकत्वमा नगरस्तरीय समुदाय–प्रहरीपालिका समितिसमेत गठन गरेको छ । सो समितिको सहसंयोजकमा नगरपालिकाका उपप्रमुख मीरा जोशी र जिल्ला प्रहरी कार्यालयका जेष्ठ प्रहरी अधिकृत रहेका छन भने सदस्यमा व्यास नगरपालिका–१० का अध्यक्ष तुलसीराम सापकोटा रहेका छन ।बैठकले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत विविध कार्यक्रम कार्यान्वयनका लागि सिफारिस गरी पठाउने निर्णय गरेको अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
साथै विपद् व्यवस्थापनका लागि हरेक वडाबाट एक/एक जना कर्मचारीसमेत सहभागी हुने गरी अग्नि नियन्त्रण टोली र नगर प्रहरी गरी २४ जनालाई तालीम प्रदान गर्ने, सामुदायिक विद्यालय एकीकरण प्रक्रियालाई अगाडि बढाउन आवश्यक गृहकार्यका लागि नगर शिक्षा समितिमार्फत सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । रासस –––