राजधानीका भित्री शहर पुनःनिर्माण गर्दै कामपा

११ महिना अगाडि

काठमाडौँ, २९ असोज । काठमाडौँ महानगरपालिकाले दशैँलगत्तै भित्री शहरको पुनःनिर्माण र धुलो न्यूनीकरण गर्न प्राथमिकताको साथ लाग्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले रासससँगको कुराकानीमा निर्वाचनको समयमा जनतासामु गरिएको प्रतिबद्धता धेरै कुरा पूरा गर्ने क्रममा रहेको र केही दशैँलगत्तै शुरु गर्ने बताए ।

‘क्लिन द सिटी’ अभियान, आठ मिटरभन्दा कम चौडाइका सडक मर्मत र वडालाई सशक्तीकरण गरी नागरिकलाई सेवा प्रदान, ज्येष्ठ नागरिकलाई घरघरमा भत्ता र स्वास्थ्य उपचार सेवा, भूकम्पका कारण भत्किएका सम्पदाको पुनःनिर्माण र अनलाइनमार्फत नक्सा पासजस्ता कार्य कामपामा भइरहेको छ ।


लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएका छन्, काम विस्तारै हुन्छ १५ वर्षसम्म हुन नसकेको काम एक वर्षमा नै पूरा गर्नु असम्भव हुन्छ त्यसैले काम गर्न समय लागेको हो ।
काठमाडौँलाई सफा बनाउनका लागि दुई वटा बु्रमर चीन सरकारले दिइसकेको र १२ करोडको लागतमा पाँच वटा ल्याउने अन्तिम तयारी रहेकाले सडक सफा राख्न अब कामपालाई कठिन नहुने पनि कुराकानीमा बताइएको छ ।

हरियाली महानगरका लागि यस आर्थिक वर्ष्भित्रमा नै १० हजार बिरुवा रोप्ने तयारी पनि कामपाको छ । हाल खुलामञ्चमा अव्यवस्थितरुपमा रहेको बसपार्क थप व्यवस्थापनको कामलाई पनि दशैँपछि नै नै शुरु गर्ने कामपाको तयारी रहेको छ । शाक्यले भने, “असन, न्यूरोड, सुन्धारालगायत स्थानमा रहेका भित्री सडकको मर्मत कार्य र सडक सफा गरी सुन्दर, नूनदेखि सुनसम्म पाइने मिनी असन निर्माण र हरियाली बनाउने कामका लागि दशैँलगत्तै शुरु गरिनेछ ।”

कामपाले चालू आव २०७५÷७६ का लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिनेछ ।
कामपाभित्र करीब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

यसैगरी कामपाले चालू आवमा पैदल यात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो ।


कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जीनीयर रामबहादुर थापाले भने, “दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र पैदल यात्रुको सुरक्षा गर्न पुल बनाइनेछ ।” यस्त पुल निर्माण गर्न पाँच स्थानका लागि स्वरुप पनि तयार भइसकेको छ ।


टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल ९काठमाडौँ जिल्ला अदालत०, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पुल बनाइनेछ । सवारी साधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदल यात्रुलाई बाटो काट्न समस्या पर्र्दै आएको छ ।
पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी चापको अवस्था देखिँदै आएको छ । नयाँ ती पुल बनाउन १२ करोड बजेट विनियोजन गरिएको प्रमुख थापाले बताए । रासस