यस्तो छ गाउँपालिकाका महासंघका संयोजकहरुको दसैं कार्यक्रम

९ महिना अगाडि

७६१ खबर डट कमले नेपालीहरुको महान चाड दसैंका अवसरमा जनप्रतिनिधिहरुको दसैंबारे चासो राखेको थियो । स्थानीय सरकारको नेतृत्व पाएका जनप्रतिनिधिहरुले दसैंलाई कत्तिको खर्चिलो बनाउँछन्, जनताको कामको व्यवस्थापन कसरी गर्छन् भन्ने चासो हुनु स्वभाविक हो । प्रस्तुत छ, विभिन्न गाउँपालिकाका प्रमुखसमेत रहेका गाउँपालिका महासंघका संयोजकहरुको दसैंबारे ७६१ खबर डट कमको सोधिखोजी–

ताराबहादुर काफ्ले संयोजक, गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर १
एवं कानेपोखरी गाउँपालिका प्रमुख, मोरङ

सर्वप्रथम त म ७६१ खबर डट कममार्फत देशविदेशमा रहनुभएका नेपालीहरुलाई दसैंको शुभकामना व्यक्त गर्न चाहन्छु । आफ्नो आर्थिक अवस्था हेरेर दसैं मनाउन अपिल गर्दछु । आफूले तडकभडक गर्दा छरछिमेकलाई पर्ने असरबारे पनि सचेत हुन आग्रह गर्दछु । म आफू पनि सामान्य तरिकाले नै दसैं मनाउँछु । खर्चमा मितव्ययिता अपनाउँछु । रितिरिवाजको जगेर्ना गर्नुपर्छ । मदिरा सेवनबाट टाटै रहन सल्लाह दिन्छु ।

विजयकुमार चौरसियासंयोजक, गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर २
एवं पकाहा मैनपुर गाउँपालिका प्रमुख, पर्सा

दसैंमा म वर्षेनि दुर्गा पूजा गर्दै आएको छु । दसैंको आरम्भ यहीँबाट सुरु हुन्छ । गाउँपालिकाका विभिन्न वडामा दसैंका अवसरमा पूजाआजा र कार्यक्रमहरु हुँदै आएका छन् । त्यसबाहेक दसैं घरमै मनाउँछु । तीन दाजुभाइ छौं । दिदीबहिनीलाई पनि घरमै बोलाएर खानपिन गर्छौं । दसैंमा १५/२० हजार रुपैयाँ खर्च हुने गरेको छ । तर, यति गर्ने भनेर छुट्याउँदिन । दसैंको एक दुई दिनबाहेक म फुर्सदमै हुन्छ । जनताका काममा कहिल्यै असहज अवस्था आउन दिँदिन । संस्कार बचाउनुपर्छ तर दसैंमा फजुल खर्च भने रोक्नैपर्छ ।

ईश्वरचन्द्र पोखरेलसंयोजक, गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर ३
एवं तामाकोशी गाउँपालिका प्रमुख, दोलखा

सप्तमीसम्म भने गाउँपालिकाभित्र विभिन्न संघ संस्थाले गर्ने कार्यक्रम र गाउँपालिकाको काममा नै व्यस्त हुन्छु । परम्परा र रितिरिवाजअनुसारका पारिवारिक भेटघाट बाहेक दसैंमा अरु केही कार्यक्रम छैन । गाउँपालिकाको वडा नं. ३ मा रहेको दाइको मूलघरमा विजयादशमीको टिका लगाउँछौं । चामल र खसी किन्नुपर्दैन । टिकाटालोका लागि ४०/५० हजारजति खर्च हुन्छ । टिकाको दिन पनि जनताको कामलाई रोक्दिन । शान्तिपूर्वक दसैं मनाउन नगरबासीलाई अपिल गर्दछु ।

मधुकृष्ण पन्तसंयोजक, गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर ५
एवं छत्रकोट गाउँपालिका प्रमुख, गुल्मी

मैले २०७५ सालको विजय दशमी तथा शुभ दिपावालीमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्दछु । म पनि मान्यजनबाट आशिर्वाद लिन्छु । दसैं घरमा नै मनाउँछु । दसैंका लागि यति बजेट भनेर चाहि छुट्याएको छैन । जनताको काम परेको बेला म बाट लिन सक्ने सेवासुविधाबाट वञ्चित गराउँदिन । रमाइलो तरिकाले दसैं मनाउन सबै गाउँबासीलाई सल्लाह दिन्छु ।

कविन्द्रकुमार केसी संयोजक, गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश
एवं सिम्ता गाउँपालिका प्रमुख, सुर्खेत

मैले आफ्नै गाउँपालिकामा आफ्ना परिवार तथा इष्टमित्रहरुसँग दसैं मनाउँछु । ससुराली पनि जाने भनेको छु । दसैंका लागि चाँहि यति बजेट भनेर छुट्याएको छैन । टिकाटालो र खानपानको लागि ५/१० हजार जति खर्च हुन्छ । दसैंमा जनताको काम परेको बेला म बाट लिन सक्ने सेवासुविधा बाट वञ्चित गराउँदिन । सिफरिस वडा बाटै हुने गरेकाले धेरै समस्याहरु आउँदैनन् । जनताको काम हेरेर बिदाको सदुपयोग गर्ने छु । आफ्नो क्षमता, योग्यता र सामाजिक संस्कारअनुसार नै दसैं मनाउन अपिल गर्दछु ।

दुर्गादत्त ओझा संयोजक, गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश
एवं जोरायल गाउँपालिका प्रमुख, डोटी

मैले आफ्नै गाउँपालिकाको वडा नं. ३ मा रहेको घरमा नै धूमधामसाथ दसैं मनाउँछु । दसैंमा यति नै खर्च गर्ने भन्ने योजना छैन । सकभर थोरै खर्च गर्ने प्रयत्न गर्दछु । म बाट लिन सक्ने सेवासुविधाबाट वञ्चित गराउँदिन । जनताका घरमै गएर भए पनि सेवा प्रदान गर्ने छु । जनतालाई मौलिक किसिमले आफ्नो स्थिति हेरिकन दसैं मनाउन सुझाव दिन्छु । गाउँपालिकावासी सबैलाई दसैंको शुभकामना दिन चाहन्छु ।

ईश्वर पाण्डेसंयोजक, गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेश
एवं भीमसेन गाउँपालिका प्रमुख, गोरखा
दसैंमा ८ वटै वडामा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको छ । म चाँही आफ्नै घरमा दसैं मनाउँछु । दसैंलाई बजेट छुट्याएको छैन । ७/८ धार्नीको खसी काट्ने हो । कपडामा धेरै खर्च गर्ने गरेको छैन । टिका लगाएर सय÷पचास दिने गरेको छु । १०÷१५ हजार रुपैयाँ खर्च होला सायद । चाडवाडमा पनि जनताको काम हेरेर सेवा प्रदान गर्ने छु । म बाट लिन सक्ने सेवासुविधा बाट वञ्चित गराउँदिन । जनताका घरमै गएर भए पनि सेवा प्रदान गर्ने छु ।