गलकोट नगरपालिले गौरवका योजना अघि बढायो

११ महिना अगाडि

बागलुङ, २८ असोज । गलकोट नगरपालिकाले वडा तहमा नगर गौरवका योजना अघि बढाएको छ । पूर्वाधार विकासमा ती योजना केन्द्रित छन् । सडक पहिलो प्राथमिकतामा छ । ११ वटै वडामा सञ्चालन हुने गौरवका योजना बहुवर्षीय हुन् ।

चालु आवमा अधिकांश योजनाको लागि ५० लाख बजेट छुट्याइएको छ । केहीमा ४० र ५५ लाख बजेट छ । नगरसभाले गौरवका योजना र बजेट पारित गरेको थियो ।
नगरको दिगो विकासका लागि गौरवका योजना ल्याइएको नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । “बजेटलाई मुख्य योजनामा केन्द्रित गरेका छौँ”, उनले भने, “आवश्यकता र दीर्घकालीन महत्व हेरेर योजना छनोट भएको छ ।”

समृद्ध गलकोटको लक्ष्य हासिल गर्न गौरवका योजनाले आधार तयार गर्ने ठानिएको छ ।
गौरवका योजनामा सडक कालोपत्रे, स्वास्थ्यचौकी, नगर सभाहल निर्माण, पर्यटकीय पूर्वाधार विकासलगायत छन् । वडा नं १ दुदिलाभाटीमा स्वास्थ्यचौकी निर्माणको योजना अघि बढेको छ । २ नं मा नगर सभाहल निर्माणका लागि ५० लाख बजेट छुट्याइएको छ । त्यस्तै वडा नं ३ मा सडक र छाँगावरोहण ‘क्यानोनिङ’ का लागि ५५ लाख, ४ मा डाँडाखेत–चमुवा सडक स्तरोन्नतिमा ५० लाख बजेट छ ।

वडा नं ५ को हरिचौर बजारको नाली सुधार सडक कालोपत्रेका लागि ५० लाख, ६ को हटिया–हरिचौर जोड्ने सडक सुधारमा ५० लाख, ७ मा मल्म–पाण्डवखानी सडक स्तरोन्नतिका लागि ४० लाख बजेट विनियोजन गरिएको छ । यस्तै वडा नं ८ मा वडा कार्यालय निर्माणको लागि ५५ लाख, ९ मा वडा कार्यालयको लागि जग्गा व्यवस्थापनमा ४० लाख बजेट छ ।


भौतिक पूर्वाधारसँगै सामाजिक विकासका क्षेत्रमा पनि नगरपालिकाले लगानी बढाएको छ । आवश्यकताका आधारमा शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइलगायतका क्षेत्रमा यथोचित कार्यक्रम÷बजेट ल्याइएको छ । सामाजिक सुरक्षा कार्यक्रममा पनि नगरपालिकाले केही नयाँ सुविधा थप गरेको छ । यसै आवदेखि ८५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वार्षिक तीन हजारका दरले पर्व भत्ता दिन थालिएको छ । रासस