नगरपालिका फोरमको अगुवाइमा फोहर व्यवस्थापन स्थलको टुंगो लाग्दै

१ वर्ष अगाडि ७६१ खबर डटकम

काठमाडौँ, २४ असोज -उपत्यकास्तरीय नगरपालिका फोरमले काठमाडौंको फोहर व्यवस्थापन तत्काल गर्ने भएको छ । भर्खरै स्थापना भएको यो फोरमले यहि साताभित्र उपत्यकाको फोहर व्यवस्थापनको टुंगो लगाउने भएको हो ।

फोरमकै अगुवाईमा वातावरण विभागसहितको सहभागिता फोहर व्यवस्थापन गर्न तत्परता देखाएको हो । जसका कारण फोहर व्यवस्थापनका लागि उपयुक्त स्थानको पनि तह हुन लागेको हो ।

कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार यहि साता उपत्यकाको फोहर व्यवस्थापनका लागि आपत्तकालीन स्थानको टुंगो लाग्ने छ । हाल काठमाडौँ उपत्यकाको फोहर नुवाकोटस्थित ककनी गाउँपालिकाको सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । तर, यसको विकल्प खोज्नुपर्ने भएकाले कामपाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा फोरम स्थापना गरिएको हो ।

फोरममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन उपाध्यक्ष, मध्यपुरथिमि नगरका प्रमुख मदनसुन्दर जगुलु श्रेष्ठ सचिव छन् । यस्तै, फोरमको सदस्यमा काठमाडौँका चन्द्रागिरी, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा नगरपालिका, ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख र उपप्रमुख छन् ।