‘स्मार्ट’ बत्ती जडान गर्दै महानगरपालिका

१० महिना अगाडि

ललितपुर, २३ असोज - रातको समयमा सडक दुर्घटनामा पर्नुभएको छ ? अँध्यारोमा सवारी चलाउँदा तपाई सवारीको बत्ती बिग्रिएर हैरान हुनुभएको पनि हुनसक्छ । अर्कातर्फबाट आएको सवारीको बत्ती धेरै चहकिलो हुँदा आँखा नै तिरीमिरी भएर पनि तपाईलाई गाह्रो भएको हुन सक्छ । यदि तपाई रातको समयमा दैनिक पैदलयात्रा गर्नुहुन्छ भने अँध्यारोले गर्दा असुरक्षित महसुस गरिरहनुभएको होला ।

त्यसो हो भने पनि ढुक्क हुनुहोस्, ललितपुर महानगरपालिकाको मुख्य सडक छिट्टै झलमल्ल हुँदैछ । महानगरपालिकाले सवारी आगमन बढी हुने सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्दैछ । सडकका खम्बामा ‘स्मार्ट’ बत्ती जडानपछि आवश्यक मात्रामा बत्ती बल्ने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।

सडकका दुवैतर्फका खम्बामा बत्ती जडान हुँदैछ । यो बत्ती जडान भएपछि यात्रु वा सवारीको चाप बढ्दा बत्ती धेरै बल्ने र कम हुँदै जाँदा घट्दै जानेछ । उनले भने, “यात्रु र सवारी चालक आएपछि सबै बत्ती बल्छ भने नपर्दा आफैँ निभ्दै जान्छ ।” चार वटा खम्बामध्ये पालैपालो एउटा खम्बामा बत्ती बल्ने उनले बताए ।

यसले गर्दा सिसिटिभीबाट पनि सडकका दृष्य देखिनेछ । यो बत्ती बल्दा गाडी नम्बर स्पष्टरूपमा देखिने उनले बताए । सवारीको चाप बढी हुने सडकमा तीन चरणमा गरेर ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको महानगरपालिकाले जनाएको छ । पहिलो चरणमा पुल्चोकबाट कुपण्डोलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको प्रवक्ता महर्जनले बताए । यस क्षेत्रमा बत्ती जडानका लागि विद्युत् प्राधिकरणसँग सम्झौता भएर बोलपत्रसमेत भइसकेको छ । उनले भने, “दशैँअघि नै बत्ती जडान गरिसक्ने लक्ष्य लिइएको छ ।”

दशैँअघि बत्ती जडान गर्दा यस क्षेत्रमा सुरक्षा मजबुत हुने महानगरपालिकाले जनाएको छ । पहिलो चरणमा पुल्चोकसम्म जडान गर्न सकिएपछि अर्काे चरणमा लगनखेलसम्म बत्ती जडान हुने प्रवक्ता महर्जनले बताए । लगनखेलबाट धापाखेल, पाटनढोका, पिम्बहाललगायतका स्थानमा ‘स्मार्ट’ बत्ती जडान गर्दै जाने योजना उनले सुनाए ।

यात्रु र चालकको सहजता र सडक सुरक्षाका हिसावले ‘स्मार्ट’ बत्ती जडानलाई महानगरपालिकाले प्राथमिकतामा राखेको महर्जनले बताए । कुपण्डोलबाट लगनखेलसम्म जिल्लामा सबैभन्दा बढी सवारी चाप रहेको छ । रासस