‘ऐतिहासिक तथ्य र प्रमाणलाई कसैले काट्न सक्दैन’

३ वर्ष अगाडि

भारतसंँग सीमा जोडिएका नेपालका सुस्ता, महेशपुर, लिम्पियाधुरा, कालापानी लगायत क्षेत्रमा भारतले अतिक्रमण र बलमिच्याइँ जारी राखेको छ । यसलाई नेपाली जनताले समय समयमा प्रतिरोध गर्ने गरेका हुन् । यसपटक भारतीय पक्षबाट नेपालको भू–भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी समेतलाई समावेश गरी आफ्नो नक्सा सार्वजनिक गरेपछि परम्परागत आत्मीय सम्बन्धमा फेरि ठेस लाग्यो । यस्ता विषयमा कूटनीतिक माध्यमबाट वार्ता गरी समाधान खोज्न नेपालले गरेको प्रस्तावलाई भारतले ढिलाइ गरेपछि नेपालले आफ्ना ती भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ र भारतले यसमा ‘आपत्ति’ जनाएको छ ।
यसबाट भारतीय सेनापतिले भारतको सुरक्षाका लागि आफ्नो ज्यान अर्पण गर्ने नेपाली गोर्खा सैनिकको भावनाको अपमान गरेकोे देखिन्छ । अब उहाँहरूलाई ती गोर्खाली फौजको सामुन्ने आँखामा आँखा जुधाएर कुरा गर्न अप्ठ्यारो हुनुपर्ने हो । नेपाली जनता आफ्नो आत्माबाट बोल्छन् र उसलाई कसैको उक्साहटमा बोल्नु जरुरी छैन भन्ने कुरा तिनले पनि बताइदिनेछन् ।
संसद्मा जसरी प्रधानमन्त्रीज्यूले भारत ‘सत्यमेव जयते’ चाहन्छ कि चाहँदैन भनेर नेपालको भनाइ राख्नुभएको छ, तिनै आधारमा हाम्रा अन्य तहबाट पनि संवाद हुनेछन् । हामी नेपाललाई कुनै देशवेष्टित होइन, सबैसित आवागमन र पारवहन सम्बन्ध भएको भूजडित मुलुक बनाउन चाहन्छौँ ।