भक्तपुर, २८ साउन – प्रदेश १ को धनकुटास्थित पाख्रीबास नगरपालिकाले चालु आर्थिक बर्षका लागि ३८ करोड ९१ लाख ९८ हजार रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाले चालु आवका लागि संघीय र प्रदेश सरकारवाट प्राप्त हुने समानीकरण, वित्तीय अनुदान तथा राजश्व बाँडफाँडवापतको बजेटलाई आधार मानेर यो बजेट निमार्ण गरेको हो ।नगरपालिकाले चालु आवको आय तर्फ संघीय सरकारवाट वित्तीय समानीकरण अन्तर्गत ९ करोड ५० लाख तथा सशर्त अनुदान १४ करोड ४१ लाख प्राप्त गरेको छ ।सशर्त अनुदान स्वरुप प्राप्त १४ करोड ४१ लाख र प्रदेश सरकारबाट प्राप्त हुने अनुमानित सशर्त अनुदान १ करोडबाट सञ्चालन गरिने कार्यक्रमहरू तथा त्यसको लागि लाग्ने लागत समेत एकिन गरी विविध कार्यक्रम तयार गरेको नगरपालिकाका मेयर बृषवहादुर राइले जानकारी दिनुभयो ।आन्तरिक श्रोत तर्फ ८० लाख आम्दानी हुने अनुमान गरिएको नगरमा प्रदेश सरकारबाट वित्तीय समानीकरण तर्फ ६९ लाख ७४ हजार प्राप्त हुने अनुमान रहेको उहाँको भनाई छ ।संघीय राजश्व बाँडफाँडबाट ७ करोड १८ लाख प्राप्त हुने अनुमान रहेको छ भने प्रदेश राजश्व बाँडफाँड अनुदान मार्फत ४३ लाख २४ हजार प्राप्त हुने अनुमान रहेको राइले जानकारी दिनुभयो ।यस्तै, नगरले व्यय तर्फ ३८ करोड ९१ लाख ९८ हजार मध्ये चालु खर्च तर्फ ५ करोड, सङ्घीय सशर्त अनुदान खर्च तर्फ १४ करोड ४१ लाख, विषयगत कार्यक्रम तर्फ ८० लाख र प्रत्येक वडालाई ३० लाखमा नघट्ने गरी पुँजीगत तर्फको बजेट विनियोजन गरेको मेयर राइले बताउँनुभयो । यस्तै, सामाजिक सुरक्षा तर्फ ४ करोड ५० लाख विनियोजन गरिएको छ ।नगरपालिकाका दुई प्रमुख गौरवका क्रमागत योजनाहरु भ्यू टावर र नगरपालिका भवन निर्माणका लागि ३ करोड ३० लाख बिनियोजन गरिएको छ । नगरस्तरीय योजना संचालन गर्न १ करोड ६५ लाख बिनियोजन गरिएको छ भने नगरको एकीकृत नगर विकास गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्न १ करोड विनियोजन गरिएको छ ।