कालीकोट, २२ साउन -तिलागुफा नगरपालिकाले बिरामीको सेवाका लागि एम्बुलेन्स खरिद गरेको छ। नगरपालिकाले जिल्लामै पहिलोपटक एम्बुलेन्स खरिद गरेको हो। नगरपालिकाभित्रका नागरिक बिरामी हुँदा बोकेर लैजानुपर्ने बाध्यता रहेको त्यसलाई हटाउन एम्बुलेन्स खरिद गरेको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताउँनुभयो । एम्बुलेन्स नेपाल सरकारको राजस्व छुट गराएर १२ लाख रुपैयाँ खरिद प्रमुख शाहीले जानकारी दिनुभयो ।जिल्लामा नै एम्बुलेन्स नभएका बेला नगरपालिकाले किनेर राम्रो काम गरेको तिलागुफा नगरपालिका–६ गाल्जेका जनकबहादुर शाहीले बताउँनुभयो । ‘नौ वटा स्थानीय तह भएको कालीकोटमा कुनै स्थानीय सरकारले खरिद गरेका थिएनन्। बिरामी पर्दा डोकोमा बोक्नुपर्ने बाध्यता थियो,’ उहाँले भन्नुभयो, ‘नागरिकलाई सेवा दिन नगरपालिकाले एम्बुलेन्स किन्नु राम्रो काम हो।’ नगरपालिकाले नगरभित्रका नागरिकलाई निःशुल्क एम्बुलेन्सले सेवा दिने जनाएको छ। ड्राइभर र एम्बुलेन्स मर्मत खर्च कसरी मिलाउने र निःशुल्क सेवा दिनेबारे नगरपालिका कार्यपालिकाको बैठकले तय गर्ने नगर प्रमुख शाहीले जानकारी दिनुभयो ।