कञ्चनपुर, १९ साउन -सुदूरपश्चिम प्रदेशमा छ महीनासम्म स्तनपान गराउने आमा घट्न थालेका छन् । आमा निजी र सरकारी कार्यालयमा कामकाजी हुन थालेपछि स्तनपान गराउने कार्य कम हुँदै जान थालेको हो ।शिशु जन्मेको एक घण्टाभित्र बिगौती दूध खुवाउन शुरु गरी छ महीनासम्म दूध खुवाउनुपर्ने भए पनि महिलाले समय नपाएर दूध खुवाउ छाड्दै जान थालेका छन् । आमाको दूधको आवश्यकता पर्ने शिशुलाई आमा रोजगारीका लागि कार्यालयमा गएपछि घरपरिवारले गाईभैँसी वा बट्टाको दूध खुवाउने गरेको छ । गाईभैँसी र बट्टाको दूध शिशुको स्वास्थ्यका हिसाबले ठीक नभएको स्वास्थ्यकर्मीको भनाइ छ । कार्यालयमा शिशुलाई स्तनपान गराउने स्थान अभाव हुनु तथा सौन्दर्य बिग्रने गलत मानसिकताले आमाले स्तनपान गराउने कार्य कम हुँदै जान थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका पब्लिक हेल्थ नर्श ममता जोशीले बताउनुभयो ।उहाँका अनुसार सुदूरपश्चिम प्रदेशमा पूर्णरुपमा छ महीनासम्म स्तनपान गराउने पाँच दशमलव दुई प्रतिशत आमा रहेका छन् । देशभरिका ग्रामीण क्षेत्रमा पूर्ण स्तनपान गराउने आमा चार दशमलव पाँच प्रतिशत र शहरी क्षेत्रमा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या तीन दशमलव नौ प्रतिशत रहेको छ । तीन महीनासम्म स्तनपान गराउने ७२ दशमलव २, पाँच महीनासम्म स्तनपान गराउने ४० दशमलव ९ प्रतिशत रहेका छन् ।सर्भेक्षण अनुसार सन् २०११ मा ५३ प्रतिशतर सन् २०१६ मा ६६ प्रतिशत आमाले मात्रै पूर्णरुपमा स्तनपान गराएको पाइएको छ । त्यसपछिका वर्षमा पूर्णरुपमा स्तनपान गराउने आमाको सङ्ख्या घट्दै जान थालेको छ ।छोरी भए तीन महीना वा चार महीनासम्म मात्रै स्तनपान गराउने चलन बढ्दै गएको छ जुन चिन्ताको विषय भएको जोशीले बताउनुभयो । राससका अनुसार छ महीनापछि मात्रै अन्नप्राशन गराउने परम्परागत चलन भए पनि हाल तीनदेखि चार महीनाभित्रै पनि भातको माड र अन्य खानेकुरा खुवाउने चलनसमेत बढ्न थालेको छ ।“ग्रामीण क्षेत्रमा समेत मेलापात र अन्य कार्यमा आमाले कार्य गर्नुपर्दा शिशुलाई प्रतिदुई घण्टामा स्तनपान गराउनुपर्ने भए पनि त्यो हुनसकेको छैन”, निर्देशनालयका पब्लिक हेल्थ नर्श जोशीले भन्नुभयो, “जसका कारण शिशुको वृद्धि विकासमा अवरोध आउनुका साथ पोषणको कमीले शिशु रोगी हुनेक्रम बढ्दो छ ।” छ महीनासम्म आमाको दूध नै शिशुलाई पर्याप्त हुने भए पनि बट्टाको दूध खुवाउने कार्यले शिशुमा झाडापखाला लाग्ने र त्यसका कारण तौल घटने र शिशु कमजोर हुने उहाँले बताउनुभयो ।“आमाको दूधमा रोगसँग लड्नसक्ने प्रतिरक्षात्मक तत्व हुने भएकाले शिशुको शारीरिक र मानसिक विकासका लागि आमाको दूध अति महत्वपूर्ण छ”, जनस्वास्थ्य अधिकृत दिलीप साउदले भन्नुभयो, “स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउँछ ।”आमालाई स्तनपान गराउनका लागि घरपरिवारले समेत उत्प्रेरित गर्नुपर्ने र कार्यालयमा स्तनपान कक्षको व्यवस्था भए सहजरुपमा शिशुले आमाको दूध खान पाउने उहाँको भनाइ छ ।