पहिचानमा आधारित विकास प्रारूप र सिम्रौनगढ

१२ महिना अगाडि

विकासोन्मुख देशहरुमा विकासलाई वोझको रुपमा बुझ्ने परिपाटी हावी रहेको पाईन्छ । हाम्रा अगाडि भएका कैयौ अवसरहरुको सरलीकृत उपयोगिताले सामाजिक तथा आर्थिक परिवर्तनलाई संस्कारको रुपमा विकास गर्न सकिन्छ भन्ने कुरा हाम्रो समाज अनि राजनीतिक नेतृत्वले बुझ्न सकेको देखिदैन । ठुलो लगानीमा बनेका चौडा बाटाहरु, ठुला ठुला कलकारखाना, होटल, व्यापारिक केन्द्रको निर्माण आदिलाई मात्र विकास सम्झने हाम्रो मानसिकताले सामाजिक विकासको प्रकृयालाई अपेक्षाकृत रुपमा अगाडि बढ्न दिएको छैन जसको परिणाम स्वरुप विकासमा सामाजिक अपनत्वको अभाव सर्बत्र देखिन्छ ।

दसकौ लामो प्रतिक्षा र हजारौको बलिदानबाट प्राप्त संबिधान सभा र त्यसको जगमा भएको राज्यको पुनर्संरचनाले नेपाललाई संघिय गणतान्त्रिक मुलुक बन्न मार्ग प्रसस्त गर्यो र संघीय नेपालको परिकल्पना त्यतिकै गरिएको थिएन र एकात्मक शासन प्रणालीमा कुनै एक वर्गको मात्र राज्य संचालनमा पहुँच रहने अवस्था थियो
, जसले बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक विशेषतायुक्त मुलुकका अल्पसंख्यक, पिछडिएका, विभेदमा पारिएका समुदायलाई समानरुपले राज्यका संरचनामा राजनीतिक तथा प्रशासनिक पहुँच प्रदान गर्न सकेको थिएन र खासमा संघीयता तर्फको प्रस्थान तिनै समुदायहरुको राज्यमा राजनीतिक तथा प्रशासनिक रुपले अर्थपूर्ण पहुँच बिस्तार गर्नलाई थियो र जसले उनीहरुको ऐतिहासिक, संस्कृतिक, सामाजिक, तथा जातीय पहिचानलाइ दिगो बिकासमा रुपान्तरण गर्न सकोस ।
यस सन्दर्भमा प्रस्तुत लेखले पहिचानमा आधारित विकासको प्ररुपले कसरि सामाजिक तथा आर्थिक रुपान्तरणलाई दिगो र प्रभाबकारी बनाउन सक्छ भन्ने कुरालाई समेटेको छ र साथै, प्राचिन सभ्यताको उच्चतम संरक्षणबाट हालका विकसित देशहरुले कसरि लोभलाग्दो सामाजिक तथा आर्थिक रुपान्तरण हासिल गरे अनि बहुपहिचानयुक्त हाम्रो जस्तो देशले हाम्रा पुरातात्विक सम्पदा र सामाजिक पूँजीको उपयोगबाट कसरि सामाजिक अपनत्व सहितको विकासको प्रारूप तयार गर्न सक्छ भन्ने कुरालाई जोड दिईएको छ ।

अन्त्यमा सिम्रौनगढ् जस्तो ऐतिहासिक तथा पुरातात्विक सम्पदाले त्यस क्षेत्रको दिगो विकास र सामाजिक तथा आर्थिक रुपान्तरणमा पार्न सक्ने बहुआयमिक प्रभावको विश्लेषण गर्दै – त्यसका लागि बिरगञ्ज महानगरपालिकाले खेल्नु पर्ने भूमिकामा प्रकाश पारिएको छ ।


१ पृष्टभूमि
सामान्य बुझाइमा सभ्यता इतिहासले निर्माण गर्छ, तर कतिपय अवस्थामा तिनै सभ्यताहरुको बिनासमा पनि इतिहासकै कालखण्डहरु जिम्मेवार हुन्छन । प्राचिन ग्रीक सभ्यताले मानव जातिको संस्कार, संस्कृति, भाषा, कला, साहित्य र धर्मको विकसित रुपको प्रारूप तयार पार्ने काम मात्र गरेन, आदिम युगका मानव क्रियाकलापहरुलाई एउटा ब्यबस्थित प्रणालीमा रुपान्तरण गर्ने काम गर्यो । ग्रीक सभ्यताको विकासको क्रमसंगै युरोप तथा एसियाका कतिपय भूभागहरुपनि सभ्यताका केन्द्रको रुपमा बिकसित भए । सिन्धुघाटी, मेसोपोटामिया, नाइल नदी आदि केन्द्रमा बिकसित सभ्यताहरुले साँच्चै नै मानव जातिको सर्वांगीण विकासमा योगदान दिएको पाइन्छ र तर जसरि इतिहासले ति सभ्यताहरुक निर्माण गर्यो – त्यसरी नै इतिहासको कुनै कालखण्डले ति सभ्यताहरुको बिनासमा पनि उतिकै भुमिका खेलेको देखिन्छ । सभ्यताहरुको विकास र बिनासमा इतिहासले भूमिका खेलेको भएपनि तिनीहरुका सुन्दर पक्षहरुको पुनर्जीवन नै आजको बिकसित विश्वको आधार भएका थुप्रै प्रमाणहरु छन् । चौधौ शताब्दीदेखि शुरु भएको पुनर्जागरणको युगलाई वास्तवमै कला संस्कृति, साहित्य, बिज्ञान, अन्वेषणको प्रारम्भको युगको रुपमा लिन सकिन्छ जसले आधुनिक युरोपको बाटो कोर्ने कार्यमा कोशेढुंगाको काम गर्यो ।

वास्तावमा सन् १३०० मा इटालीबाट शुरु भएको पुनर्जागरण प्राचिन ग्रीक सभ्यताको कला र संस्कृतिलाई बिउत्याउने अभियान थियो जसले सम्पूर्ण युरोप भर नै कला साहित्य, संस्कृति मात्र नभई बिज्ञान र प्रबिधिको विकासलाई पनि मार्ग प्रसस्त गर्यो । वर्तमान युरोपेली वास्तुकला तथा आधुनिकिकरणमा पनि तिनै प्राचिन कला र संस्कृतिको झझल्को पाउन सकिन्छ । त्यति मात्र होइन आफ्नै मौलिक सभ्यता नभएता पनि युरोपियन सभ्यता र सिकाईको छायामा अमेरिकाले विकासको फड्को मारेको देखिन्छ ।
सभ्यता सामाजिक विश्वासको आधार हो जसले समुदायलाई बिबेकशील मार्गमा हिड्न अभिप्रेरित गर्छ । कन्फ्युसियनिजम र ताओईजमको आधारशिलामा बिकसित सिनिक सभ्यताले चिन, जापान, ताइवान, मंगोलिया, कोरिया र भियतनाम लगायतका पुर्बी एसियन मुलुकहरुमा फरक सामाजिक संस्कारको विकास गरेको थियो जसले तत्कालिन समुदायलाई कर्तव्य निष्ठ बन्न, काम प्रति प्रगाड आश्था राख्न तथा नेतृत्व प्रति बिश्वास गर्न अभिप्रेरित गरेको थियो । कन्फ्युसियनिजमले ‘सेज किंग’को परिकल्पना गरेको छ जो बिधि, कानुन र शक्तिको साथै नैतिकता, अहिंसा, मानवता र कर्मयोगी दृष्टिकोणवाट प्रेरित हुन्छ । वास्तावमा सिनिक सभ्यताले डोहोर्याएको बाटोलाई ति मुलुकहरुको राजनीति, विकास र प्रशासनले अहिले पनि अंगिकार गरेको देखिन्छ । यो सन्दर्भमा चीनले अघि सरेको ‘सील्क रोड’ अवधारणालाई त्यसैको आधार मान्न सकिन्छ । प्राचिन सभ्यताले विकास गरेको दर्शनको अनुशरण युरोपियन र चिनियाँ विकास र उन्नतिमा पुनजीवित भएको भए पनि पूर्वी र दक्षिण एसियाका मुलुकहरुमा विकसित मेसोपोटामिया, सिन्धु, इन्दुस सभ्यताहरु ओझेलमा परेको देखिन्छ, जसको परिणाम स्वरूप ती मुलुकहरुमा विकासको आधारशीला बन्न नै सकेन । युरोपेलीहरुले मध्यकालीन युगमा धार्मिक जडताको मारमा परेको प्राचिन ग्रीक र रोम सभ्यतालाई पुनर्जागरण मार्फत पुनाराजिवन मात्र दिएनन् समग्र युरोपको विकासको जग बसले । यता सिनिक सभ्यताले चीन, जापान, कोरिया, भियतनाम लगायतका पुर्वी एसियन मुलुकहरुको विकास योगदान दियो । तर पुर्वी र दक्षिण एसियामा केन्द्रीत सभ्यताहरू विकासको आधारशीला बन्न सकेनन ? यी सभ्यताले उठान गरेका संस्कार, कला, साहित्य र प्रबिधि प्रयोगमा तत्कालिन नेतृत्वहरुको ध्यान जान सकेन ।
२. सभ्यताको केन्द्र नेपाल
संसारका प्राचिन देशहरु मध्येको एउटा देश नेपालको ऐतिहासिक पृष्टभूमि हेर्दा यो आफैमा सभ्यताहरुको केन्द्र जस्तो आभास हुन्छ । चीनको ह्वाङहो र याङ्सी नदीको महासभ्यता मूल भएका मंगोलियनहरु, आष्ट्रिक र द्रविड महासभ्यता मूल भएका थारु, राजवंशी, ताजपुरिया, दनुवार लगायतका तराईका अधिकांश जनजाती, खस महासभ्यताबाट आएका खस (जुम्ला र डोटी मुख्य थलो बनाइ बसेका), वैदिक आर्य महासभ्यतावाट विकसित खस जो (तराई को भूभागमा बसोबास गर्छन), र इस्लाम महासभ्यता मूल भै नेपालमा बसोबास गर्ने मुसलमान समुदायको संयुक्त रुपनै नेपाल बन्न पुगेको देखिन्छ । प्राचिनकालदेखि नै विभिन्न सभ्यताका केन्द्रबाट समुदायहरु वर्तमान नेपालको भूभाग आवतजावत गर्ने प्रचलनका ऐतिहासिक प्रमाणहरु धेरै भेटिन्छन । द्वापर युग, महाभारत कालिन युगदेखि गौतम बुद्ध कालिन युगका प्रसङ्ग जोड्ने हो भने यो भुमिलाइ पुर्विय बैदिक सभ्यताको केन्द्र मान्न सकिने थुप्रै आधारहरु छन् ।

३. सिम्रौनगढ नेपाली सभ्यताको अंग
नेपालको तराई क्षेत्रमा अवस्थित सिमरौनगढ सन् १०९७ देखि १३२६ अर्थात् २२९ बर्षसम्म तत्कालिन कर्णाटवंशी देव नामधारी डोयको राजधानी थियो । तत्कालीन डोय राज्यको पूर्वमा कोशी, दक्षिणमा गङ्गा, पश्चिममा नारायणी (गण्डकी) र उत्तरमा चुरेसम्म फैलिएको थियो । कर्णाटकवंशले राज्यगरेको डोय राज्यको राजधानी सिमरौनगढ अहिले नेपालमा रहेको छ र दक्षिणी भाग अहिलेको भारतमा परेको छ । दक्षिण भारत कर्णाटकका राजा विक्रमादित्यको उत्तरतर्फ साम्राज्य विस्तार गर्ने योजनाको मूर्त रूप डोय राज्य हो । उनको मृत्युपछि विशाल कर्णाटक राज्यबाट इ.सं.१० जुलाई १०९७ मा आफूलाई स्वतन्त्र राजा घोषणागरी नान्यदेवले सिमरौनगढलाई राजधानी बनाए । चालुक्यहरूको विशाल कर्णाटक राज्यबाट छुट्याइएको यस नयाँ डोयराज्यको राजधानी सिमरौनगढमा योजनाबद्ध र व्यवस्थित किसिमले किल्लाबन्दी गरेका थिए । सिमरौनगढको वरिपरि ७ वटा सुरक्षात्मक पर्खालहरू बनाइएका थिए ।
नान्यदेवले निर्माण गराएको राजप्रसाद १७४ फुट लामो तथा १४९ फुट चौडा रहेको आज पनि अन्दाज गर्न सकिन्छ । सो राजप्रसादको चारैतिर कलात्मक शिलायुक्त स्तम्भले वरन्डा निकालिएको थियो । जुन ठाउँमा सभाकक्ष थियो त्यो कारीगरी हेर्दा लाग्छ त्यस समयको वास्तुकलाको उत्कृष्ट नमुना थियो । सिमरौनगढको छोटो समयको इतिहास भए पनि यस राज्यको साँस्कृतीक सम्पदाको विभिन्न पक्षहरूका बारेमा व्याख्या गर्न सकिन्छ । तिब्वती बौद्ध विद्वान धर्मस्वामीको वर्णन अनुसार राजधानी सिमरौनगढ सुरक्षाको दृष्टिकोणले राम्रो बन्दोबस्त गरिएको शहर विस्तृत थियो । तर हालसम्म यस क्षेत्रमा विस्तृत उत्खनन् कार्य भएको छैन । सन् १९९१ म सिमरौनगढ क्षेत्रको साँस्कृतिक कालक्रम पत्ता लगाउन गरिएको छोटो अवधिको उत्खनन् कार्यको फलस्वरुप सिमरौनगढमा चार साँस्कृतिक कालक्रमहरू १. कर्णाट पूर्वकाल, २. कर्णाट काल, ३. मुगलकाल र ४. अधुनिक कालका अवशेषहरू फेला परेको छ । विस्तृत उत्खनन् भएको खण्डमा सिमरौनगढ शहर नै फेला पर्ने धेरै सम्भावना छ । यस स्थानलाई खुल्ला सङ्ग्रहालयको रूपमा विकास गरेको खण्डमा राजधानीको रक्षार्थ वास्तुकलाहरूको अध्ययन र अनुसन्धान गर्न सकिन्छ । नान्यदेवदेखि अन्तिम राजा हरसिंह देवसम्मले अनेक मन्दिरहरू बनाएका थिए । कङ्कालीमाईको मन्दिर, त्यसको आसपासमा रहेका काला पत्थरका मूर्तिहरू, किल्लाका भग्नावशेषहरू, ठूल्ठूला पोखरीहरू आदीले त्यसबेलाको वास्तुकलाको साथै मूर्तिकलामा सिमरौनगढको अद्वितीय देनलाई तारिफ नगरी रहन सकिँदैन । सिमरौनगढमा छरिएर रहेका मूर्तिहरू धेरैजसो अङ्गभङ्ग भएका छन् । स्थानीय बासिन्दाहरूको भनाइअनुसार कैयौं मूर्तिहरू स्थानीय तलाउहरू र इनारहरूमा हुन सक्ने सम्भावना छ । तत्कालीन सिमरौंनगढ हिन्दूधर्म साँस्कृतिको स्वर्ण युग थियो जहाँ कला, सँस्कृती, साहित्य, धर्म आदिको विकास चरमविन्दुमा पुगेको थियो ।
४. सभ्यता, पहिचान र विकास
वास्तवमा सभ्यताहरू हाम्रा पहिचान हुन् । जसमा प्रत्येक समुदायको संस्कार, रहनसहन, सँस्कृति, कला तथा आर्थिक रसामाजिक पक्षका विविध पक्ष जोडिएका हुन्छन । पहिचान प्रति समुदायको अपनत्व झल्केको हुन्छ जसले समाज विकासको गतिलाई तिब्रता दिन सहयोग गर्छ । पुनर्जागरण युगमा नवजीवन पाएका प्राचिन कला साहित्य, सँस्कृति र प्रविधिको आडमा आधुनिक युरोप मात्र बनेन हालको सर्वशक्तिमान राष्ट्र अमेरिका पनि त्यहि सभ्यताको जगमा अहिलेको अवस्थामा आइपुग्यो । सीनिक सभ्यताले दिएको शैद्धान्तिक मार्गदर्शनका आधारमा पुर्वी एसियन मुलुकहरुले विकासको फड्को मारिरहेका छन् । ती देशहरुको प्रगतिशील उन्नतिमा पहिचानको रुपमा जोडिएको प्राचिन सभ्यताको ठुलो हात छ । नेपाल लागायत मध्यपुर्वी तथा दक्षिण एशियाली मुलुकहरुको विकासको गति तुलनात्मक रुपमा कम हुने कैयन कारणहरू मध्ये विकासप्रति सामाजिक अपनत्वमा कमी हुनु पनि एक हो भने विकासमा सामाजिक अपनत्व कम हुनमा विकासले सामाजको ऐतिहासिकतालाई समेट्न नसक्नु अर्को कारणको रुपमा देख्न सकिन्छ । प्रत्येक समाजको आफ्नो मौलिक शैली हुन्छ जुन उनीहरुले पुस्तौदेखि अवलम्बन गर्दै आएको कला, सँस्कृति, साहित्य, भाषा, भेषभुषा, संस्कार र मनोविज्ञानमा झल्किन्छ । तिनै शैलीलाई समाजको मौलिकतामा खलल नपर्ने गरि आधुनिकीकरण तथा व्यावसायीकरण गर्दै लैजाने प्रकृयालाई पहिचानमा आधारित विकास प्रणालीले समेट्छ । जुन कुराको अभ्यास हाम्रो जस्तो अल्पविकसित मुलुकमा एकदमै कम हुने गरेको छ ।
५. सिम्रौनगढ, पहिचान र विकास
पहिचानमा आधारित विकास प्रारुपले एकातर्फ सरकारका विकास केन्द्रित गतिविधिमा सामाजिक अपनत्व बढाउँछ भने अर्को तर्फ विकासको नविनतम नमुना निर्माणमा पनि सहयोग गर्छ । संघीयताको अभ्याससंगै विकासित र सम्बृद्ध मुलुक निर्माणका बहसहरु धेरै भए । तर, सामाजिक तथा मानव बिकासका आयामहरुलाई पुर्बाधार विकाससँग कसरी जोड्ने भन्ने दिशा तर्फ एकदमै कम बहसहरु भएका छन् । पूर्वाधार विकासले समाजलाई आधुनिकतातर्फ लैजान सहयोग गर्ला तर समाजमा अन्तरनिहीत मौलिकताको समानान्तर विकास नहुन्जेल विकासले पूर्ण रुप धारण गर्न सक्दैन । पुर्वाधार बिकासको पहिलो सर्त मानव विकास सँग जोडिन्छ भने मनाव विकास समाजको कला, संस्कार, मनोविज्ञान र सँस्कृतिसँग जोडिन्छ । जुन समाजको पहिचान हो । तसर्थ सामाजिक अपनत्व सहितको विकास हासिल गर्न सामाजिक पहिचानको समयानुकूल उथान अपरिहार्य बन्न जान्छ । पुर्बी बैदिक सभ्यताको मुख्य कमजोरी भनेकै आफ्नो ऐतिहासिक सम्पतिको पहिचान गर्न नसक्नु हो । जसको परिणाम स्वरूप हाम्रा कला, सँस्कृति, साहित्य अनि प्रविधि कि त मासिए, कि त अतिक्रमणमा परे । हाम्रा इतिहासका दिब्य संदेशलाई जहिले पनि छायामा परे । एकले अर्काको सामाजिक तथा ऐतिहासिक पहिचानलाई कमजोर देखाउने कार्यमा धेरै समय खर्च भयो । तर कहिले पनि इतिहासले छोडेर गएको सामाजिक सम्पतिको संरक्षण गर्ने काम गरिएन जुन ग्रीक र रोम सभ्यता सँग जोडिएका युरोपेली देशहरु र चीन, जापान, कोरिया लगायतका सिनिक सभ्यतासँग जोडिएका देशहरुले गरे । त्यसैले सामाजिक अपनत्व सहितको विकासको लागि हाम्रा ऐतिहासिक केन्द्रहरुलाई सभ्यताका केन्द्रको रुपमा पुनार्जिवित गरिनु पर्छ । त्यसका लागि सिम्रौनगढ अब सिम्रौनगढ मात्र नभई यो नेपालका सभ्यताका केन्द्रहरु मध्येको एक प्रमुख केन्द्रको रुपमा रहनु पर्छ । तसर्थ यसको विकासको थालनी यसको मौलिकता अनि सिम्रौनगढ । सभ्यतालाई झल्काउने समाजको कला, सँस्कृति, साहित्य, भाषा, भेषभुषा, संस्कार र मनोविज्ञानको सुक्ष्म अध्ययनबाट शुरु हुनुपर्छ । सिम्रौनगढ क्षेत्रलाई आधुनिक जमानाको पुरातात्विक सम्पदाले भरिपुर्ण सभ्यताको केन्द्रको रुपमा विकास गरिनु पर्छ जहाँ विकसित पुर्वाधारहरुले तत्कालिन अवस्थाको सिम्रौनगढ राज्यलाई पुनार्जिवन दिन सकियोस । तसर्थ सिम्रौनगढ । नगरपालिकाले कोर्ने विकासको प्रारूप यस क्षेत्रमा आधुनिक र खर्चिला पुर्बाधार निर्माण गर्ने तर्फ भन्दापनि सिम्रौनगढको मौलिकतालाई झल्काउने तर्फ केन्द्रित हुनु आवस्यक देखिन्छ । जसले पूँजीनिर्माण, रोजगारीका अवसरको सिर्जना, पर्यटन विकासको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्बाह गर्न गर्छ ।
६. सिम्रौनगढ नगरपालिकाको भूमिका
संविधानले प्रदान गरेको अधिकारका आधारमा बनेका संघ, प्रदेश र स्थानिय सरकारहरु आफैमा त्यस्ता शक्तिशाली निकायहरु हुन जसले संबिधानको दायरा भित्र रही पूर्ण स्वायत्तताका साथ काम गर्ने क्षमता राख्छन् । तसर्थ राजनीतिक परिवर्तनको अपेक्षा बमोजिम भएको रुपान्तरणकारी परिर्वतनले समुदायको घरदैलोमा अधिकार मात्र पु¥याएको छैन स्थानीय तहका राजनीतिक व्यक्तित्वहरुलाई आफ्नो क्षेत्रमा विकास र सम्बृद्धि ल्याउन क्षमता प्रर्दशन गर्ने अवसर पनि प्रदान गरेको छ । बलियो इच्छा शक्ति र दीर्घकालिन सोचयुक्त राजनीतिक नेतृत्वहरुले आगामी ५ वर्ष भित्र आफ्नो गाउँपालिका तथा नगरपालिकालाई सँच्चिकै नमुना बनाउन सक्ने अवसर पाएका छन् । स्थानीय सरकारले अव आ–आफ्नो अधिकार क्षेत्र भित्र रही कानुन बनाउने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्न सक्छन । आफ्नै परिवेश सुहाउँदो शिक्षा नीति, रोजगार नीति, पूर्वाधार नीति लगायतका महत्वपुर्ण नीतिहरु बनाएर कार्यान्वयनमा लैजान सक्छन् जसले स्थानीय सरकारको कामलाई उदाहरणीय बनाउन सक्छ । यो पृष्टभुमिमा सिम्रौनगढ नगरपालिकाले संबैधानिक रुपमा प्रदत्त अधिकारको प्रयोग गरेर विकासको नया युगको प्रारम्भ गर्न सक्ने थुप्रै आधारहरु छन् । सिम्रौनगढ नगरपालिका क्षेत्रमा सुसुप्त रुपमा रहेको कला, संस्कार, सँस्कृति र सामाजिक मनोविज्ञानको अन्वेषण मार्फत मौलिक विकासको थालनी सिम्रौनगढबाट हुन सक्छ । आफुले बनाएका भौतिक पुर्बाधार, शिक्षा, पर्यटन, युवा लगायत का थुप्रै नीति तथा ऐनहरुमा सिम्रौनगढको ऐतिहासिकता झल्कने बिषयवस्तु समाबेश गरि त्यसै अनुरुपका विकासका प्रारुपहरु निर्माण गर्न अवसर यो नगरपालिकालाई छ जसको भरपुर प्रयोग मार्फत यो क्षेत्रलाई सभ्यताको केन्द्रको रुपमा पुनर्जीवित गर्न सकिन्छ । यसबाट सिम्रौनगढ नगरपालिकाले मात्र होइन नेपाल भरिका स्थानीय सरकारहरुले पहिचानलाई केन्द्रमा राखेर विकासको मार्गचित्र कसरि कोर्ने भन्ने कुराको शिक्षा पाउँछन ।
७. निस्कर्ष
सायद यो स्वाभाविक नै हुन सक्छ कि इतिहासको चक्र अनुसार कतिपय घटनाक्रमहरुले उचाई प्राप्त गर्छन भने कतिपय त्यतिकै हराएर जान्छन् । निकै सम्बृद्ध मानिएका सभ्यताहरू पनि इतिहासको कालखण्डमा नासिएका उदाहरणहरु छन् । सिम्रौनगढ पनि विश्वका तिनै हराएका सभ्यताहरु मध्येको एउटा त्यस्तो सभ्यता हो, तत्कालिन समयमा जुन भाषा, साहित्य र कलाको संगमको रुपमा विकसित थियो । इतिहासको कुनै कालखण्डमा यो सभ्यता हराएर गएको भएतापनि यसलाई पुनजीवन दिन सकिने कैयौ आधारहरु छन् । जसरी पुनर्जागरणले ओझेलमा परेको प्राचिन ग्रीक र रोम कला तथा साहित्यलाई पुनर्जिबन दियो त्यसरीनै सिम्रौनगढ सभ्यतालाई जगाउन अर्को पुनर्जागरणको आवस्यकता छ । जसको नेतृत्व सिम्रौनगढ नगरपालिकाले गर्न सक्छ ।