कर्णाली प्रदेश : डिजिटल विद्यालय निर्माणको तयारी

१२ महिना अगाडि रासस

सुर्खेत,६ भदौकर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर डिजिटल विद्यालय निर्माणको तयारी थालेको छ । सरकारले चालु आर्थिक बर्षभित्र कार्य सम्पन्न गर्नेगरी डिजिटल विद्यालय निर्माणको अभियान थालेको हो ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले शैक्षिक क्षेत्रको उन्नयन र प्रविधियुक्त शिक्षाको उच्चतम् प्रयोगबाट प्रदेश समृद्धिमा सघाउ पु¥याउन डिजिटल विद्यालय निर्माणको तयारीमा सरकार लागेको जानकारी दिए । प्रारम्भिक चरणमा यस प्रदेशका २४ वटा निर्वाचन क्षेत्रलाई लक्षित गरी प्रत्येक निर्वाचन क्षेत्रमा एउटा डिजिटल विद्यालय निर्माण गरिने मन्त्री भण्डारीले बताए । उनका अनुसार विद्यालय छनोट गर्दा सम्बन्धित निर्वाचन क्षेत्रबाट निर्वा्चित प्रदेशसभा सदस्यले गरेको मूल्याङ्कन तथा सिफारिसलाई मुख्य आधार बनाइने छ ।
डिजिटल स्कूल कार्यक्रममार्फत माध्यमिक विद्यालय छनोटका लागि विभिन्न सातवटा मापदण्ड तयार गरिएको छ । यी मापदण्डहरुमा सोलार वा राष्ट्रिय प्रणालीबाट विद्युत्को पहुँच, माध्यमिक तहमा कम्प्युटर विषयमा अध्ययन अध्यापन, कम्प्युटर सम्बन्धी ज्ञान भएको जनशक्तिको उपलब्धता, विद्यालयको भौतिक तथा सुरक्षा अवस्था, लाभान्वित विद्यार्थीको अभिरुचि, इन्टरनेट सेवाको उपलब्धता र विद्यालयको माग, तत्परता, अपनत्व र दिगोपन रहेका छन् ।
सातवटा मापदण्डलाई सय पूर्णाङ्क कायम गरी सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यहरुले दिएको नम्बर र गरेको सिफारिसलाई आधार मानी विद्यालय छनोट गर्ने जनाइएको छ । मापदण्डअनुसार छनोट हुने विद्यालयका लागि प्रारम्भिक चरणमा सरकारले तीन करोड बजेट विनियोजन गरेको छ । बाँकी बजेट प्रदेश सरकारले थप गर्ने मन्त्री भण्डारीले बताए । सरकारले निर्माण गर्ने डिजिटल विद्यालय सुशान्त, बालबालिकामैत्री र सिसी क्यामेरा जडित हुनेछ । डिजिटल बोर्डबाटै अध्ययन अध्यापन गराइनेछ । एन्ड्रोइड अर्थात एप्लिकेशनमार्फत अभिभावकले आफ्ना बालबालिकाको पठनपाठनको अवस्थाका बारेमा जानकारी राख्न सक्नेछन् ।
ई–लाइब्रेरीको व्यवस्था हुनेछ । हरेक दिनको शिक्षक विद्यार्थीको उपस्थिति र तिनले गर्ने क्रियाकलापको रेकर्ड रहनेछ । बालबालिकालाई भविश्यको अन्वेषक बन्न उत्प्रेरित गर्नेछ । इन्टरनेटको सहयोगाट शिक्षक विद्यार्थीलाई विश्वसँग जोडिएर नवीनतम् ज्ञान, सन्देश, सूचना तथा जानकारी लिन सहजता मिल्नेछ । दुर्गम गाउँ तथा मनस्थिति सुगममा परिणत हुनेछ । यसले डिजिटल कर्णाली अभियानको व्यावहारिक कार्यान्वयन गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यसबाट विगतमा शिक्षाको आधारभूत सुविधाबाट बञ्चित कर्णालीका विद्यार्थीको शैक्षिक स्तरमा सुधार आउनुको साथै प्रतिस्पर्धामा खरोरुपमा उत्रिनसक्ने विश्वास गरिएको छ ।