‘काम गर्दा ध्यान नपुग्न सक्छ, सच्चिने मौका दिनुहोस्’

९ महिना अगाडि ७६१ खबर

विद्यासुन्दर शाक्य

मेयर, काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकाले थुप्रै कामहरु अघि बढाएको छ । हामीले पाएको जिम्मेवारी अनुसार काम गरिरहेका छौं । खासगरि, पुनर्निर्माण र पूर्वाधार विकासका क्षेत्रमा थुप्रै काम गरेका छौं । कामका विषयमा थुप्रैलाई जानकारी नभएकाले पनि महानगरले के काम गर्‍यो भन्ने भएको होला !
सबैको चासो महानगरले के काम गर्‍यो भन्ने छ । सवैले देख्ने गरि महानगरले गरेको काम नभएको भन्ने होला । गणेश मन्दिरको काम अहिले गरिरहेका छौं । त्यहाँ प्रयोग भएका इँटाहरु नेपालमा नपाइने भएकाले र कतिपय सामान बाहिरबाट पनि ल्याउनुपर्ने भएकाले भौतिक प्रगति कम भएको देखिएको छ । त्यसको बारेमा सवै नगरबासीलाई जानकारी गराइने छ ।

काठमाडौंका थुप्रै धार्मिक स्थलहरुको पुनर्निर्माण गरिरहेका छौं । गणेश मन्दिरको, काष्ठमण्डप मन्दिरको पनि अहिले निर्माण गरिरहेका छौं । आउँदो असारसम्म थुप्रै कामको नतिजा देखिने छ । हामी कसैसँग पैसा माग्दैनौं, हामी आफैँ हाम्रो क्षेत्रका धार्मिक स्थलहरुको पुनर्निर्माण गर्छौं । स्वदेशी वा विदेशी जसले पनि स्वतः स्फुर्त रुपमा म पनि यति सहयोग गर्छु भन्दै आएमा मात्र हो नत्र हामी कसैसँग रकम उठाउँदैनौं । हामी आफैँ हाम्रो क्षेत्रमा सम्पदाको मर्मत तथा पुनर्निर्माण गर्नेछौं । हामीले जे भनेका छौं, जे बोलेका छौं, त्यसमा भोलि अप्ठ्यारो नहुने गरि सम्पदाहरुको पुनर्निर्माण गर्नेछौं ।

यस्तै, कुमारी मन्दिरको पुनर्निर्माण गर्ने कि मर्मत मात्र गर्ने भन्ने अध्ययन हुँदैछ । त्यसको अध्ययन गरेर हामी निर्माण काम गर्नेछौं । हामीले काम गर्दै जाँदा कहिले पनि ध्यान नपुगेको हुन सक्छ । त्यस्तो भएको भए तपाईंहरुले भनिदिनुहोस् । हामी त्यसलाई सच्याएर अघि बढ्छौ । हनुमानढोकाको पुनर्निर्माणको काम पनि हामी अघि बढाइरहेका छौं । काष्ठमण्डपको पुनर्निर्माणका लागि महानगरले सहयोग गरिरहेको छ । अन्य सम्पदाको पनि यसैगरि पुनर्निर्माण हुनेछ ।