म मेयर भएको भए.....

१० महिना अगाडि होमप्रसाद गौतम

स–साना स्थानीय निकायहरु मिलेर अहिले बलिया स्थानीय तह बनेका छन् । नेपालमा विगत लामो समयदेखि भएका आन्दोलनले स्रोत साधन र अधिकारसम्पन्न स्थानीय तहको माग र अपेक्षा गरेको थियो । तर, त्यति हुँदा पनि स्थानीय तहले नेतृत्व पाएको डेढ वर्षसम्म पनि विकास र सेवाका दृष्टिले काम गर्न नसकेको गुनासो हामीले सुनिरहेका छौं ।

हाम्रो देशमा पटक–पटक निर्वाचन भए । राजाको शासनमा पञ्चायती चुनाव भए । बहुदल आएपछि पनि २ पटक स्थानीय निकायको निर्वाचन भयो । गणतन्त्र नेपालको संविधान २०७२ जारी भएपछि भएको स्थानीय तहको निर्वाचनबाट आज मुलुकले नयाँ नेतृत्व पाएको छ । २०१९ सालको संविधान र २०४७ सालको संविधानलाई पूर्णरुपमा विस्थापन गरेर जारी भएका गणतन्त्र नेपालमा केन्दद्रमा संघीय सरकार, ७ वटा प्रदेशमा ७ प्रदेश सरकार र स्थानिय तहमा ७५३ वटा स्थानीय सरकारले काम गरिरहेका छन् ।



निर्वाचनमा आम जनताको बल, व्यक्तिगत सक्रियता र पार्टीको लोकप्रियताले चुनाव जित्ने हो । चुनाव जित्नु र चुनाव जितिसकेपछि काम गर्नु गराउनु फरक कुरा हो । जनप्रतिनिधिले चुनावमा प्राप्त जनताको मतलाई जोगाइराख्नु ठूलो चुनौतीको विषय हो ।
निर्वाचन अगाडि जसरी पनि चुनाव जित्ने दाउ हुन्छ । चुनाव जितेपछि जसरी पनि जनताको भावनाको कदर र सम्मान गर्ने कामले गति ल्याउने वा गति दिने जनप्रतिनिधि कमै मात्र निर्वाचितभएका हुँदा रहेछन् । जनप्रतिनिधि हुनु भनेको तोकिएको एउटा समयदेखि अर्काे निश्चित अवधिसम्मको लागि देश जनता र समाजको लागि निःस्वार्थ उन्नति प्रगतिको काम इमानपूर्वक गर्नु हो । जनताको फैसलाबाट आएका जनप्रतिनिधिहरुले काम गर्दा धेरै सचेतता अपनाउनुपर्छ । जनताको भाग्यको फैसला गर्ने अधिकार प्रयोग गर्नको लागि जनताले जनप्रतिनिधिलाई अधिकार सुम्पेको छ ।
त्यसको सदुपयोग गरेर राष्ट्रको भविष्य निर्माण हुनेछ ।

आज भने यस लेखमार्फत म आफैँ मेयर भएको भए के–के गर्ने थिए भन्ने विषयमा केही चर्चा गर्न चाहन्छु ।
जनप्रतिनिधिको आँखाको नानी बन्न सक्नु पर्दछ । प्रतिनिधि हुनु भन्दा पनि प्रतिनिधि भएपछि उसको भूमिका मुख्य हुनेछ । पार्टीको लोकप्रियता, कार्यकर्ताको लागत, जनताको विश्वास र कहिले कोही गलत तरिकाको कारणले पनि चुनावमा जित र हार हुन सक्छ । चुनाव जिते पनि हारे पनि जनप्रतिनिधि हुने मानिस जहिले पनि जनताको बीचमा आँखाको नानी भएर काम गर्नु पर्दछ ।

हाम्रो देशमा कैयौँ जनप्रतिनिधिहरु ४/५ पटक पनि चुनाव जित्ने गरेको पाइन्छ । जनप्रतिनिधिहरुले चुनाव अगाडि एउटा पार्टीको ब्यानरमा चुनाव जिते पनि उनीहरु सभ्य मानिस बन्न सक्नु पर्दछ । मैले विगतमा चुनाव जितेपछि आएको यो नीतिले म आजसम्म पनि जनताको नजरमा लोकप्रिय रहेको अनुभव गरेको छु । यदि म मेयर भएको भए विगतको अनुभवलाई समेटेर सबैको नजरमा राम्रा काम गर्ने थिएँ । जनप्रतिनिधि आफ्नो लागि होइन जनताको लागि हुनु पर्दछ । जनप्रतिनिधि/राष्ट्रसेवक वा प्रहरी प्रशासन र अन्य सरकारी मानिसहरु जनसेवाका लागि आएका हुन् । तर, हाम्रो देशमा बहुतै फरक छ । म भन्छु जनप्रतिनिधि मालिक नै पल्टनको लागि जनताले उसलाई निर्वाचन गरेको होइन । उसलाई जनताले आफ्नो काम आफैँ गर्न असम्भव भएकाले राज्यको काम नागरिक र सबै साधारणको काममा मद्धत गर्न भनेर निर्वाचित गरेर पठाएको हो । जनप्रतिनिधिले आफ्नो निजी जीवन त्याग्नुपर्ने हुन्छ । सुख, सुविधाहरु बिर्सनु पर्ने हुन्छ । जनप्रतिनिधि कमजोर भए समग्र सेवा प्रवाह नै प्रभावित हुन्छ ।

धेरै निर्वाचित मानिसहरु निर्वाचनपछि देश जनता र समाजका लागि निर्वाचनमा जितेको महसुस गर्दैनन् । राजनीति सेवा भावनाले ओतप्रोत भएको हुनु पर्दछ । विगतमा हुने जनप्रतिनिधिले धेरै भन्दा धेरै कठिनाईसँग काम गरेको अनुभव छ । उनीहरुको मानसिकता व्यवहारिक थिए । जनताप्रति जिम्मेवार र पारदर्शी थिए । व्यापार भाव राख्नु हुँदैन । जनप्रतिनिधि गलतधन्दाबाट मुक्त हुनुपर्दछ । जनप्रतिनिधि सेवक हो । शासक होइन । जनप्रतिनिधिका सबै व्यवहार खुल्ला र पारदर्शी हुनुपर्दछ । वास्तवमा विगत २०४९/५९ सम्मका धेरै भन्दा धेरै जनप्रतिनिधिहरुले पानी पिएर जनताको मन जितेकै कारण आज तीन तहका सरकारहरुमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार छ । जनताको मुखले नबोले पनि जनताको आँखामा जनप्रतिनिधि माथि हुने गरेको छ । हामी जो कोही पनि जनताको नजरमा गिर्ने काम गर्नु हुँदैन ।

मैले २०३६ सालको बहुदलको निर्वाचनदेखि यताका २०३८ सालको निर्वाचनलाई छोडेर २०७४ सम्का धेरै भन्दा धेरै निर्वाचन जनप्रतिनिधिहरु नियालेको छु । जनप्रतिनिधि विभिन्न खालका रंगीन मनोरञ्जनहरुबाट पनि मुक्त भएर काम गर्न सक्नुपर्छ । पदहरुलाई कहिल्यै पनि पैसामा विनियम गर्नु हुँदैन । यहाँ त जनप्रतिनिधि हुनु वा चुनाव जित्नु भनेको कमाउ धन्दामा लाग्नु भन्ने हुन थालेको छ । चुनावमा धेरै धन खर्च गरेर(पुरानो थेगो) बिहारी शैलीलाई भित्र्याउने कारणले सबै दलहरु जनताको नजरमा बिलाउँदै गएका छन्। दुई/तीन पटकको चुनावी प्रतिस्पर्धाले मलाई के लागेको छ भने, बिहारी शैलिको चुनावले नेता र जनतालाई नै आजित बनाएको छ । देशको चुनाव प्रणालीप्रति नै घृणाभाव उत्पन्न हुन थालेको छ । तसर्थ, हामी जनप्रतिनिधिले आफू बन्ने र देश नबनाउने होइन । देश बनाउने समाजलाई पनि उठाउने र आफूले पनि समाजसँगै आफ्नो विकास खोज्नु पर्दछ ।

स्थानिय तहले जनपरिचालनमा विशेष जोड दिनु पर्दछ । आज देश बनाउने सुनौलो अवसर आएको छ । विगतका शासकहरुले वास्तविक जनताको लागि शासन गरेनन्, केवल आफ्नो लागि गरे । संविधान र नियम कानुन भन्दा माथि बसेर गलत व्यवहार गरेको कारण नै हामीले राजतन्त्र पञ्चायत सबै फालेर गणतन्त्र ल्यायौँ । गणतन्त्र नेपालमा पनि तीनै पुराना शासनका कुरुप पक्षहरु देखिएका छन् । जबसम्म जनताको पक्षमा विकास र उन्नति गर्न सक्दैनौँ, तबसम्म जनप्रतिनिधि हुनुको सार्थकता छैन । तसर्थ, स्थानीय स्तरमा जनपरिचालन पहिलो शर्त हो । आफ्नो स्थानीय तहको सौन्दर्य कायम राख्ने, आफ्नो नगर÷गाउँपालिका भित्रका धार्मिक तथा साँस्कृतिक पक्षको उजागर गर्नु हाम्रो दायित्व हो । विगतमा मलाई जनपरिचालनको राम्रो अनुभव छ । हामीले ३ लाख पाउँदा जनश्रमदान र जनपरिचालनबाट १० लाख भन्दा धेरैका काम गरेका थियौं ।


जनपरिचालनबाट धरान, बुटवलजस्ता सहर बनेको उदाहरण त हामीसँग पनि छँदैछ । मैले पनि निर्वाचित हँुदा झापाको धरमपुरमा राजमार्गबाट ५०० मिटर साइकल सरसर गुड्ने ठाउँ थिएन । आज जनपरिचालनबाट ४०/५० फुटका कालोपत्रे सडक बनेका छन् । पुल बनेका छन् । उपभोक्ताको सहभागिता भएको खण्डमा खर्चमा पारदर्शिता पनि आउँछ, जनतामा अपनत्व पनि विकास हुन्छ । प्राकृतिक स्रोतको परिचालन र व्यवस्थापन सफल जनप्रतिनिधिको परिचय हो । प्राकृतिक साधन श्रोतको पहिचानका साथ परिचालन गर्नुपर्दछ । यसबाटै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले पनि आफ्नो लागि विकासको आधार तयार गर्न सकिन्छ । जल–जमिन–जंगल जडिबुटी हिमाल पोखरी तालहरुको पनि हामीले उपभोग वा परिचालन गरेर जनताका जीवनका आधारहरु बदल्न सकिन्छ । स्थानीय समुदायमा रोजगारी सृजना गर्न सकिन्छ । स्थानीय श्रम, सिप र सृजनाले उत्पादन प्रक्रियामा स्थानीय तहले कार्यक्रम सञ्चालन गरी प्राप्त साधन श्रोतको परिचालनको लागि पनि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ ।

भ्रष्टचारबाट अलग रहनू र राख्नु जनप्रतिनिधिहरुको अर्को सफलता हो । हाम्रो देशमा भ्रष्टाचार सारै नराम्रोसँग झांगिएको छ । पैसाका लागि जनप्रतिनिधिले पासपोर्टसम्म बिक्री गर्ने गरेको हामीले देखेकै छौं । पैसाको लागि प्रहरी अधिकारी जुवाको खाल चलाउँछ । पैसाको लागि अनैतिक काम गर्दछन् । भ्रष्टाचारीको जात, धर्म हुन्न । भ्रष्टाचारका घटनाहरु संख्यात्मकरुपमा वृद्धि भएका छन् । यो एउटा डरलाग्दो रोग हो । पँुजी नै सर्वोपरी ठान्ने स्थितिबाट हामी मुक्त हुनुपर्छ । भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्ने कुरा मन, वचन र कर्मले नै देखाउनुपर्छ । जनप्रतिनिधि लोभी हुनुहुन्न । २०/२५ लाखले काम गर्ने ठाउँमा ७५/८० लाखको गाडी किन्ने होड चलेको छ । पैसा कमाउनेहरुले राजनीति गर्ने होइन । राजनीति विशुद्ध सेवा हो । धेरै धन कमाउने हो भने राजनीति छाडेर व्यापार व्यवसायमा लाग्नुपर्छ । जनप्रतिनिधिहरुलाई पनि राजनीतिलाई व्यापारको थलो नबनाउन मेरो विशेष आग्रह छ । गौतम तत्कालिन धरमपुर गाविस, झापाका अध्यक्ष एवं गाउँ विकास समिति राष्ट्रिय महासंघका संस्थापक केन्द्रीय उपाध्यक्ष हुन् ।