चितवन, १ भाद्र । भरतपुर अस्पतालले अन्तरंग विभागको ४ सय बेड निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले बेड निःशुल्क गरेको हो ।अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा.गोविन्द कँडेलले विज्ञप्ती जारी गरी क्रिटिकल केयर (आईसियू, सिसियू, पिआईसियू, एनआईसियू), पोष्टअपरेटिभ वार्ड, क्याबिन, एचडियु, स्पाईन, कार्डियाक, न्यूरोसर्जरी र अर्थाेपेडिक वार्डहरुमा भने न्यूनतम सेवा शुल्क कायम गरिएको उल्लेख गर्नुभएको छ ।अहिले भरतपुर अस्पतालले जनरल वार्डमा एक सय रूपैयाँ प्रतिदिन शुल्क लिँदै आएको थियो । भने, क्रिटिकल केयरका बेडहरुमा अधिकतम दुई हजार रूपैयाँसम्म शुल्क रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।अस्पतालमा हाल ६०० शैया सञ्चालनमा छन् । अस्पतालमा ओपिडि (बहिरंग) सेवाको टिकट पनि निःशुल्क रहेको छ ।भरतपुर अस्पताल नेपाल सरकारको केन्द्रीय रिफरल अस्पताल हो । यहाँ चितवन र यसआसपासका १३ बढी जिल्लाका बिरामी उपचार गर्न आउँछन् । अस्पताको रेकर्ड अनुसार यहाँ दिनमा दुई हजार ५ सय जनासम्म ओपीडीमा उपचार गर्न आउने बिरामी हुन्छन् ।